१८ असार २०७७, बिहीबार

मोरङमा उन्नत जातको एउटै बोकाबाट पनि आर्थिक रुपान्तरण

मोरङ । उन्नत जातको एउटै बोकाबाट पनि आर्थिक रुपान्तरण गर्न सकिन्छ। परम्परागत बाख्रापालन फस्टाउन नसकेको धनपालथान र जहदा गाउँपालिकामा अहिले विस्तारै परिवर्तन देखिन थालेको छ। स्विस कन्ट्याक्टले नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोगामअन्तर्गतको सहज कार्यक्रमले ग्रामीण भेगमा उत्साह थपेको छ। स्थानीय निकायसँगको सहकार्य र सम्बन्धित कृषककै लागत साझेदारीमा बाख्रापालन सुरु गरिएको हो। बोयर जातको बाख्रापालनबाट आर्थिक लाभ राम्रो हुने र व्यवसाय पनि फस्टाउने भएकाले मोरङमा यसको प्रवद्र्धन सुरु भएको छ।

धनपालथान ३ का एक कृषक चन्द्रकुमार सरदारले पविता कृषि फर्म सुरु गरेका छन्। उनले व्यावसायिक बाख्रापालन गर्न थालेको वर्षौं भए पनि व्यवस्थित थिएन। गत साउनदेखि सहजसँगको सहकार्यमा उनले व्यवस्थित बाख्रापालन सुरु गरेका हुन्। बाख्राका लागि गोठ र लेयर जातको एउटै बोकालाई एक लाख रुपैयाँ उनले तिरे। बोका ल्याउन र गोठ बनाउन सहजले ५० प्रतिशत नगद सहयोग गरेको थियो। यसले उनलाई बाख्रापालनप्रति उत्साह थपिदियो।

गाउँपालिकाले बाख्राका लागि आवश्यक प्राविधिक सहयोग, औषधि उपचार, बिमासहित सहजीकरण गर्‍यो। सहजले सहजता प्रदान गरेका कारण एउटा बाख्राबाट सुरु भएको सरदारको गोठमा अहिले १६ वटा बाख्रा छन्। आफूले पाएको उप्रेरणा र व्यावसायिक महŒव बुझेपछि अहिले यसैलाई मूल पेसा बनाएर बाख्रापाठाकै स्याहारमा जुटेको उनी बताउँछन्।

सहजले गाउँपालिकासँगको सहकार्यमा कृषकलाई उन्नत जातको बोयर बोका दिएर बाख्रापालनलाई व्यवस्थित बनाउन सहयोग पुर्‍याइरहेको छ। यो संस्थाले दिएको प्राविधिक र व्यावहारिक ज्ञानसहित आवश्यक साथ र सहयोगबाट नै उनलाई बाख्रापालनमा सहजता प्रदान गरेको हो।

यसअघि परम्परागत रूपमा पालिने बाख्रालाई खानपानमा कुनै ध्यान दिइने थिएन। बिहान खाली ठाउँमा लगेर बाँध्ने र बेलुका घर ल्याउनेबाहेक बाख्रालाई घाँसपात खुवाउने, औषधि उपचार गर्ने, छुट्टै गोठ बनाएर राख्ने केही थाहा नभएको सरदारले बताए। बाख्रापालन पहिलेदेखि नै गर्दै आएको भए पनि व्यवस्थित ढंगले गर्दा राम्रो आम्दानीको हुने रहेछ भन्ने भर्खर मात्रै थाहा पाएको सरदार बताउँछन्।

धनपालथान र जहदा गाउपालिकाका ३÷३ जना कृषकलाई नमुना छनोटको रूपमा लिएर बाख्रापालन गर्न लगाइएको छ। धनपालथानमा सरदारको, सोहनलाल राजबंशीको आवी एकीकृत कृषि फर्म र द्रौपदीकुमारी राजवंशीको शिव कृषि फर्म छ।

१० वटा बाख्रासँगै एउटा लेयर राखेर गरिएको बाख्रापालनले उनलाई बाख्रामा नै लगानी केन्द्रित गर्ने मनसाय आइसकेको छ। उनले माछापालनमा पनि समय दिने गरेको भए पनि बाख्रापालनमा देखिएको सम्भावनाले यसैमा व्यवसाय केन्द्रित गर्न थालेको बताए।

स्वस्थ्यकर्मी भएर वर्षौंसम्म विभिन्न जिल्ला र क्षेत्र पुगेर काम गरिसकेकी द्रौपदीकुमारी अहिले पूर्णकालीन कृषक छन्। उनी बाख्राको स्याहार सुसारमा नै समय दिन थालेको बताउँछिन्। ३२ वटा बाख्रा जम्मा पारिसकेकी द्रौपदीलाई बिहान उठेदेखि बाख्रालाई के खुवाउने, कहाँबाट घाँसपात ल्याउने, कसरी स्याहार सुसार गर्ने र गाउँकै नमुना बाख्रा फर्म कसरी बनाउने भन्ने चिन्ता छ।

यस्तै जहदाको भीमपुरमा रहेको सिंहजी बहुउदेश्यीय कृषि फर्मका रविशेषकुमार सिंह पनि बिहानैदेखि बाख्राको स्याहार सुसारमै तल्लीन हुन्छन्। २५ वटा बाख्रा रहेको उनको खोरमा बोयर जातको एक बोका र दुई पाठी छन्। ‘एउटा पाठी चार महिना पालेपछि ४०÷५० हजार रुपैयाँ आइहाल्ने रहेछ’, सिंहले भने। व्यवस्थित बाख्रापालन गर्ने हो भने पैसा पाउन सकिन्छ भन्ने भएर भैंसी हटाएर बाख्रापालन मात्रै गर्ने तरखरमा छिन् उनी।

सहजसँगको सहकार्यमा बाख्रापालन गर्ने भनेपछि अरुको भन्दा भिन्न र व्यवस्थित गोठ बनाएका आरती कृषि फर्मका अमरचन्द्र सिंह निकै उत्साहित छन्। सहजले बाख्रा पाल्ने तरिका, व्यवस्थापन, औषधिउपचार, घाँसपातलगायत विषयमा ज्ञान दियो। यसलाई प्रयोग गरेर बाख्रापालनमा रुची जागेको अमरचन्द्र बताउँछन्। उनले १५० वटा बाख्रा पाल्ने सोच बनाइसकेका छन्। ‘बाख्रापालनमा पाएको हौसलाले बारीभरी विभिन्न प्रकारका घाँस लगाएको छु। धान खाने खेतमा जै घाँस रोपेर यसैको मलजलमा व्यस्त छु’, अमरचन्द्रले भने।

बाख्रापालनमा पाँच लाख लगानी गरिसकेका अमरचन्द्रलाई पैसा खर्च गरे अनुसारको प्रतिफल आउनेमा विश्वास पनि छ। बाख्रापालनमा केन्द्रित हुन थालेपछि छोरा अजितकुुमारलाई भेटेरिनरी इन डिप्लोमा अध्ययन गराइरहेका छन्। छोराको रुची पनि भयो र भविष्यमा कृषि क्षेत्रमा क्रियाशील हुने देखेको उनको बुझाइ छ।

‘व्यवस्थित बाख्रापालनको जानकारी पाएपछि भोलिका दिनमा गाउँमै कृषि पेसामा सक्रिय हुने र यही क्षेत्रमा सम्भावना देखेर भेटेरिनरी विषयलाई नै छनोट गरेको अजितकुमार बताउँछन्। ‘आफ्नो फर्मलाई गाउँमा नमुना कृषि फार्म बनाउने धोकोसहित घरको काममा बुबालाई सहयोग गर्दै पढाइ अगाडि बढाइरहेको छु’, अजितले भने।

भर्खरै सुरु भएको व्यवस्थित बाख्रापालनलाई गाउँपालिकाका सबै वडामा एक-एक नमुना बनाइने जहदा गाउँपालिकाका अध्यक्ष कैशाशप्रसाद मण्डल बताउँछन्। उनका अनुसार हामीले सहजीकरण गरिदिएको र थोरै बजेट खर्च गर्दा गाउँमा राम्रो हुन्छ भने लागेको छ। जम्मा तीन वटा फर्मलाई नमुनाको रूपमा हेरेको गाँउपालिकाले चालू आवमै अर्को दुई तीनवटा वडासम्म लैजाने मण्डलले बताए।

स्थानीयको आयस्रोत कम भएको, परम्परागत खेतीबाट लाभ लिन नसकेकाले आधुनिक बाख्रापालनमा प्रतिबद्ध भएको धनपालथानका प्रमुख प्रशासकीय अधिकृत लोचनप्रसाद दाहालले बताए। गाउँपालिकाले दिने सहयोग भनेको परम्परागत तरिकाबाट भएको कामभन्दा फरक हुन सिकाउने हो। जसले आर्थिक लाभ हुने र ग्रामीण क्षेत्रका कृषकको अवस्था पनि सुध्रियोस् नै भन्ने हो। यो वर्ष धनपालथानले समग्र कृषि परियोजनाका लागि ६० लाख रुपैयाँ खर्च गर्ने गरी बजेट विनियोजन गरेको छ। यसैबाट बोयर जातको बाख्रापालनलाई प्रोत्साहित गर्न हरेक वडामा कम्तीमा एक लाख रुपैयाँ खर्च गर्ने जानकारी दाहालले दिए। यो खबर अन्नपुर्ण पोष्टले लेखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु



COVID-19 Stat: 2020-7-1

Country Confirmed Death
Nepal1404630
India60464117834
China848164641
Malaysia8640121
Qatar97003115
Australia8001104
US2686258128062
Saudi Arabia1942251698