ताप्लेजुङकी सिभिरा लामाले चुमिन् मिस मंगोल नेपाल– २०१९ को ताज

ताप्लेजुङकी  सिभिरा लामाले चुमिन् मिस मंगोल नेपाल– २०१९ को ताज

काठमाडौं । ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को ताज चुमेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्।

प्रतियोगितामा रोल्पाकी २२ वर्षीया रेनुका पुनले फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन्। स्नातक पूरा गरेकी रेनुकाको मिस मंगोलमा यो दोस्रो प्रयास हो। त्यस्तै काठमाडौंकी १९ वर्षीया यजु कर्माचार्य सेकेन्ड रनरअप हुन सफल भइन्। उनले प्लस टु पूरा गरेकी छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतियोगितामा तेह्रथुमकी १७ वर्षीया अपेक्षा लिम्बू मिस मंगोल स्टेट १, धनुषाकी १९ वर्षीया समीक्षा सिधाली मिस मंगोल स्टेट २, काठमाडौंकी रीतिका स्याङ्तान मिस मंगोल स्टेज ३, गोरखाकी पूजा मगर मिस मंगोल स्टेज ४ र रोल्पाकी रेनुका पुन स्टेट ५ घोषित भए।

प्रतियोगितामा नेपाली सेनाका पूर्वउपरथी होमकुमार लावती प्रमुख निर्णायक थिए। अन्य निर्णायकमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य अशोक लोहोरुङ राई, रिडी ग्रुप लिमिटेडका निर्देशक डीबी आलेमगर, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ परिषद् सदस्य माधव प्रधान, मिस मंगोल– २०१५ डा. निमा पुन थिए।

प्रतियोगितामा फोटोग्राफर राजभाइ सुवाल, हेयर स्टाइलिस नीलडेभिड कटवाल र कोरियोग्राफर रोजिन शाक्यलाई ‘मिस मंगोल डिकेट कन्ट्रिब्युसन अनर’ प्रदान गरिएको थियो।

मौलिक संस्कृति, लुकेको क्षमता अभिवृद्धि एवं नेतृत्वदायी भूमिका निर्वाहलाई आधार बनाएर सन् २००९ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको मिस मंगोलले एक दशकको अनुभवपछि मुलुकको संघीय संरचनाअनुसार नयाँ प्रणाली अँगालेको हो। यो प्रणालीअनुसार हरेक स्टेटबाट एक एकजना विजेता र समग्र सहभागीबाट मिस मंगोल नेपाल विजेता छान्ने गरिन्छ। प्रतियोगिताको यो ११औं संस्करण हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्