विराटनगरमा १० रुपैयामा खाना : खाने मानिस दैनिक ७०० देखि एक हजार

विराटनगरमा १० रुपैयामा खाना :  खाने मानिस दैनिक ७०० देखि एक हजार

विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो ।

शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताए ।

बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने हुन्छ । कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ ।

अभियान शुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७०० देखि एक हजार जनासम्मले खाना खाने गरेको बताए ।

क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहेका छन् । “दिनको करिब रु १७ हजार खर्च हुन्छ”, अभियानकर्मी धाडेवालले भन्नुभयो, “यो अभियान अब सधैँ रहन्छ, यसका लागि सहयोगीले नाम लेखाइसकेका छन् ।” एक जना सहयोगीले एक दिनको जिम्मा लिएका छन् ।

यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने धाडेवालको जिकिर छ । “वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने छ”, उनले भने ।

सस्तोमा खाना खुवाउन शुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उनको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्