विराटनगर । नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक तथा पूर्वाञ्चल विश्वविद्यालयका सभासद केदार कार्कीले विश्व विद्यालयलाई अनिर्णयको बन्दी नबनाउन सरकारको ध्यानाकर्षण गर्नु भएको छ।
प्रमुख सचेतक कार्कीले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी २६ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा दुई तिहाइको सरकारले विश्व विद्यालयलाई अनिर्णयको बन्दी बनाएको जनाईएको छ । विज्ञप्तिमा उपकुलपति नियुक्ति गर्न नसक्नु र काम चलाउ उपकुलपतिले विश्वविद्यालय चलाउनु पर्ने अवस्था आउनु प्राज्ञिक क्षेत्रको मानमर्दन भएको जनाइएको छ । ‘विचलित मानसिकता उत्पन्न गराउन उद्दत रहेको समेत लख काट्न सकिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
पियुको सभा प्रधानमन्त्री निवासमा राख्नु तर त्यसमा स्वयम् प्रधानमन्त्री उपकुलपति भएको समयमा उपस्थिति नहुनु शिक्षा क्षेत्रको अपमानका साथै उदाशिन मानसिकता भएको भन्दै कार्कीले यसले शिक्षा क्षेत्रमै दुर्भाग्यको अवस्था सिर्जना भएको स्पष्ट पर्नुभयो ।
विश्वविद्यालयमा लामो समयसम्म उपकुलपति नियुक्ति नगराउनु, काम चलाउबाट काम चलाउन खोज्नुको मनसाय रजिष्ट्रार र काम चलाउले मिलेमतोमा सहकुलपति शिक्षामन्त्रीलाई पनि प्रभावमा पारी आर्थिक चलखेल गरेको सहजै अनुमान गर्न सकिने कार्कीको भनाई छ । विश्वविद्यालय जस्तो संवदेनशील क्षेत्रमा उपकुलपति नियुक्ति गरी अन्योलमुक्त गर्न माग गर्दै कार्कीले अन्यथा शिक्षा क्षेत्र कसैको क्रिडास्थल बने त्यो सह्य नहुने भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनु भएको हो ।