राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट ९ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट  ९ जनाको उम्मेदवारी दर्ता

विराटनगर । राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ बाट तीन दलका ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १ नम्बर प्रदेशमा राष्ट्रियसभामा रिक्त भएको दलित १, महिला १ र अन्य १ गरी तीन सदस्यका लागि मतदान हुँदैछ । जसका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली कांग्रेस र संघीय समाजवादी नेपालका फरक फरक तीन/तीन जनाले उम्मेदवारी आइतबार जिल्ला निर्वाचन कार्यालय मोरङमा मनोनयन दर्ता गराएका हुन् ।

नेकपाको तर्फबाट प्रदेश १ मा दलिततर्फ गोपी अछामी,  महिलातर्फ इन्दिरादेवी गौतम र खुल्लातर्फ देवेन्द्र दाहालको उम्मेवारी परेको छ । राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका सुन्दर हरैचा नगरपालिका ८ का ४५ वर्षीय आछामीको प्रस्तावकमा कानेपोखरी गाँउपालिकाका अध्यक्ष ताराबहादुर काफले र समर्थकमा प्रदेशसभा सदस्य विजय विश्वास रहेका छन् ।

त्यसैगरी महिलातर्फ सुनसरी इटहरी ४ की ७४ वर्षीया इन्दिरादेवी गौतमका प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार ओझा र समर्थकमा प्रदेश सभासद सावित्राकुमारी रेग्मी रहेकी छन् । अर्को खुल्लातर्फका दमक नगरपालिका ५ का ६१ वर्षीय देवेन्द्र दाहालको प्रस्तावकमा प्रदेश सभासदस्य ज्ञानेश्वर राजबंशी र समर्थकमा बेलवारी नगरपालिकाका अध्यक्ष ज्ञानेन्द्र सुबेदी रहेका छन् ।

कांग्रेसका तर्फबाट महिला तर्फका सदस्य पदका लागि धरान उपमहानगरपालिका १ की ६५ वर्षीया मिना पुलामी मगर, दलित तर्फ फिदिम नगरपालिका १ का ३९ वर्षीय निरबहादुर विश्वकर्मा र खुल्ला तर्फ भद्रपुर नगरपालिका ८ का ५८ वर्षीय राजेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् ।

महिला सदस्य मगरको समर्थकमा प्रदेश सभासद चन्द्रप्रसाद श्रेष्ठ र समर्थकमा धरान उपमहानगरपालिका मेयर तिलक राई रहेका छन् ।दलित तर्फका विश्वकर्माको समर्थकमा प्रदेश सभासदस्य सूयर्माराज राई र समर्थकमा प्रदेश सभासस्य शिवनारायण गनगाई रहेका छन् ।

खुल्ला तर्फका घिमिरेको समर्थकमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र समर्थकमा सोही महानगरपालिका उपमेयर इन्दीरा कार्की रहेकी छन् ।संघीय समाज पार्टीले राष्ट्रिय सभामा रिक्त भएको दलित १ तर्फको सदस्य पदका लागि बुढीगंगा गाँउपालिका ३ का ४८ वर्षीय ज्ञानकुमार परिवार, त्यसैगरी महिला तर्फ विराटनगर महानगरपालिका १६ की ३९ वर्षीया सदिना खातुन र खुल्ला तर्फ विराटनगरमहानगरपालिका ४ का ५९ वर्षीय भरतराज दाहालले उम्मेदवारी दर्ता गराएका छन् । अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्