उपचार खर्च तिर्न नसक्दा बिराटनगरमा एक युवा ६ महिना देखि अस्पतालमै

उपचार खर्च तिर्न नसक्दा बिराटनगरमा एक युवा ६ महिना देखि अस्पतालमै

विराटनगर । छोराको उपचार गराएको खर्च तिर्न नसक्दा २० वर्षीय छोरालाई विराटनगरको विराटनगर अस्पताल एवं विराट नर्सिङ होममै छाडेर बुवा सम्पर्कविहीन बनेका छन् ।
संखुवासभाको खाँदबारी नगरपालिका १० चन्दनपुरका २० वर्षीय जीवन भुजेल ६ महिनादेखि अस्पतालमै छन् । उपचार खर्चको अभावमा अस्पतालले नछाडेको हो । अस्पतालले पनि परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नभएका कारण जीवनलाई डिस्चार्ज गरेर जिम्मा लगाउन नसकेको जनाएको छ ।
उपचारका क्रममा अस्पतालमा पाँच लाख रुपैयाँ बढी खर्च भएको थियो । औषधि र खाना लगायत करिब तीन लाख बढी खर्च भईसकेको छ । छोराको उपचार वापत लागेको पैसा खोज्नका लागि भन्दै उनलाई अस्पतालमै छाडेर तीन महिना अघि घर फर्किएका बुवा गणेश भुजेल अहिलेसम्म घर पुगेका छैनन् ।
अस्पतालका लेखापाल सुवास पोखरेलले अस्पतालले गर्ने छुट दिएर बिरामीलाई डिस्चार्ज गर्न सकिने भए पनि परिवारका सदस्य र आफन्त सम्पर्कमै नभएको बताए । उनले अस्पताल जतिसक्दो चाँडो जीवनलाई परिवारको जिम्मा लगाउन लागिपरेको जानकारी दिए । जीवन अस्पतालको पाँचौ तलाको सर्जिकल वार्डमा छन् । श्वासप्रश्वासका लागि घाँटीमा पाइप लगाईएको छ । घाँटीमा गहिरो चोट लागेकाले बोल्न सक्दैनन् । कसैले प्रश्न सोधेमा हातको इसारा र कपीमा लेखेर जवाफ दिन्छन् ।
उपचारमा संलग्न अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. राजीवकुमार साहले घाँटीको गम्भीर चोटका कारण श्वासप्रश्वास सजिलो होस् भनेर घाँटीको शल्यक्रिया गरेर पाइप राखिएको बताए । परिवारका सदस्य सम्पर्कमा नहुँदा धेरै अघि शल्यक्रियामार्फत निकाल्नु पर्ने घाँटीको पाइप निकाल्न नपाएको उनको भनाइ छ । साहले परिवारका सदस्यको सहमति बिना शल्यक्रिया गर्न नसकिने स्पष्ट पारे । उनले घाँटीको शल्यक्रिया गरेर पाइप निकालेपछि बोली आफै खुल्ने उनले बताए । तत्काल पाइप ननिकाले संक्रमण भएर स्वास्थ्य सम्बन्धी थप समस्या आउन सक्ने डा. साहको भनाइ छ ।
टाउको, छात्ती, पेट र घाँटीमा चोट लागेपछि गम्भीर अवस्थाका उनलाई उपचारका लागि बुवा गणेशले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हुँदै असार ६ गते विराटनगर ल्याइपु¥याएका थिए ।
जीवनकी छिमेकी विमला भण्डारी चापागार्ईंले युवालाई सहयोगका लागि गाउँ तथा विदेशमा रहेकाहरुबाट सहयोग जुट्न थालेको बताइन् ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च तिर्न नसकेर अस्पतालमा लामो समयदेखि बन्धक बनाइएका युवालाई बाहिर निकाल्नका लागि सबैतिरबाट अहिलेसम्म ५० हजार रुपैयाँ भन्दा बढी संकलन भइसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्