विराटनगर । जिल्ला अदालत मोरङले विभिन्न अपराधिक घटनामा दोषी ठहर भएका १२ जना फरार प्रतिवादीलाई मोरङको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । कैद र जरिवाना फैसला सुनाए पनि फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीले गत बुधबारदेखि शनिबार रातिसम्ममा उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो । पथरीका डीएसपी दिलिप गिरीले बहुविवाह, सवारी ज्यान, चोरी, लागुऔषध समेतका मुद्दामा दोषी ठहर भए पनि लामो समयदेखि फरार रहेकाहरुलाई पक्राउ गरिएको बताउनुभयो ।
पक्राउ पर्नेमा बहुविवाह मुद्दामा फरार रहेका पथरीशनिश्चरे ८ का ४५ वर्षीय चन्द्रबहादुर लुइँटेल, पथरीशनिश्चरे १० का ३५ वर्षीय बालकृष्ण श्रेष्ठ, ३० वर्षीय अर्जुन राई, ३२ वर्षीय नरमाया तामाङ रहेका छन् । लागुऔषध मुद्दाका पथरी शनिश्चरे ८ का ६० वर्षीय लालबहादुर राई र पथरी शनिश्चरे ६ का ३५ वर्षीय बज्रमोहन यादव रहेका छन् ।
सवारी ज्यान मुद्दामा फरार भएका पथरीशनिश्चरे –६ का ३४ वर्षीय बले मुसहर, ५० वर्षीय गोपाल लुइँटेल, ४४ वर्षीय राजकुमार धिमाल, पथरीशनिश्चरे ८ का ४५ वर्षीय सोभित भुजेल, कानेपोखरी २ का ३५ वर्षीय फणिन्द्रबहादुर लिम्बू र चोरी मुद्धामा फरार पथरीशनिश्चरे ५ की ५५ वर्षीय मीना खड्कालाई पनि पक्राउ गरिएको डीएपपी गिरीले जानकारी दिनुभयो ।
प्रहरीले पक्राउ गरी अदालतमा बुझाएपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।