काठमाडौँ– नेपालमा पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई चीन सरकारले पठाएको दुई वटा चार्टर विमानबाट बुधबार चीन पठाइएको छ।
नेपालमा अवैध गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुलाई दुईवटा विमानबाट बुधबार चीन डिपार्ट गरिएको हो। प्रहरीले गत पुस ७ गते नेपालमा गैरकानुनी क्रियाकलाप गरेको भन्दै काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको थियो।
अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइएका उनीहरुलाई जनही एक हजार रुपैयाँ जरिवाना तिराइएको थियो। त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो ।
चीन सरकारले पठाएका चाइना इस्टर्न र चाइना साउथर्नका दुई वटा विमानबाट उनीहरुलाई चीन फिर्ता पठाइएको प्रहरीले जनाएको छ।