जोगवनीको मीरगञ्ज पुल एकतर्फी बन्द, विराटनगर भन्सार नाकाबाट आयात–निर्यात ठप्प

जोगवनीको मीरगञ्ज पुल एकतर्फी बन्द, विराटनगर भन्सार नाकाबाट आयात–निर्यात ठप्प

विराटनगर । भारतले बथनाहस्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै पुनः एकतर्फी बन्द गरेको छ । भारतबाट आउने मालबहाक ढुवानी साधन आवतजावत बिहीबार बिहानैबाट एकतर्फी रुपमा बन्द गरेको हो ।
आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ । मीरगञ्ज पुलबाट भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ औद्योगिक कच्चा पदार्थ लगायत विभिन्न वस्तुहरु आयात हुनेगरेको छ ।
भारतले यस अघि नै पुल ११ दिनका लागि बन्द गरिने घोषणा गरेको थियो । मर्मत सकेर माघ ६ गतेबाट पुल सञ्चालन गर्न अनुमति दिइने भारतीय पक्षले बताएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
भारतले यस अघि पनि मर्मतको बहानामा पुस ३ देखि ११ गतेसम्म पुल बन्द गराएको थियो । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले भारतले पुलबाट हुने आयात निर्यात बन्द गरेपछि विकल्पका रुपमा वीरपुर–भण्टाबारी नाका प्रयोग गरिने बताए । पौडेलका अनुसार पुल बन्दको समयमा भण्डाबारी नाका हुँदै तेस्रो मुलुकबाट आएका मालबहाक सवारी साधन नेपाल प्रवेश गर्नेछन् ।
तेस्रो मुलुकबाट आयात भएका सामानलाई वीरपुर–भाण्टाबारी रुट प्रयोग गर्न दिने तर भारतबाटै आएका मालबहाक सवारी साधनलाई भने जान नदिने अडानमा भारतीय पक्ष रहेको छ । भारतबाट औद्योगिक कच्चा पदार्थ र ट्रेडिङका सामाग्री नेपालतर्फ आयात हुन्छ । ११ दिनसम्म पुल बन्द हुँदा वैकल्पिक रुट प्रयोग गर्न नदिने हो भने निजी क्षेत्रलाई ठूलो असर पर्ने उद्योगी बताउँछन् ।
२०७४ साल साउनको बाढीले पुल क्षतिग्रस्त बनाएको थियो । त्यसबेला पुल सञ्चालनमा आउन ८ महिना बढी समय लागेको थियो । मीरगञ्ज पुल अवरुद्ध हुँदा त्यतिबेला सुनसरीको वीरपुर, भण्टाबारी नाकाबाट रिरुट गरेर मालबहाक सवारी साधन नेपाल भित्राइएको थियो ।
विराटनगर भन्सार कार्यालयले दैनिक करिब १५ करोड राजस्व संकलन गर्दै आएको छ । पुल मर्मत अवधिभर राजस्व संकलनमा प्रभाव पर्ने भन्सारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्