विराटनगरका ट्रक व्यवसायीको भारतीय मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन माग

विराटनगरका ट्रक व्यवसायीको भारतीय मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन माग

विराटनगर, पुस २७ गते । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् ।
विराटनगर ट्रक व्यवसायी सङ्घको २९औँ साधारण सभा तथा १५औँ अधिवेशन कार्यक्रमको अवसरमा शनिबार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

भारतबाट मालवस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालनमा आउँदा नेपालीको रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको हो । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नेपालमा ६५ हजार मालवाहक सवारी रहेकाले भारतीय मालवाहकलाई प्रवेशमा रोक लगाउनुपर्ने बताउनुभयो । उहाँले भारतीय मालवाहक सवारीलाई बिनाअवरोध प्रवेश गर्न दिँदा राज्यको सडक संरचनामा समेत ठूलो क्षति भएको दाबी गर्नुभयो । नेपालको सडक भारवहन क्षमताभन्दा धेरै वजन बोकेर आउने भारतीय मालवाहकले नेपाली सवारीको आवागमनमा अतिक्रमण गरिरहेको उहाँको तर्क थियो । उहाँले सरकारलाई एकद्वार प्रणालीबाट अग्रिम कर भुक्तानी गर्न व्यवसायी तयार रहेको बताउँदै देशैभरिका सरकारले लगाउने कर हटाउनुपर्ने मागसमेत गर्नुभयो ।

सरकारले निर्धारण गरेको ढुवानीको दरभन्दा कम मूल्यमै नेपालका ट्रक व्यवसायीले ढुवानी गरिरहेको बताउँदै उहाँले पछिल्लोपटक मूल्य अभिवृद्धि कर (भ्याट) र भीसीटीएस प्रणालीको नियमले आतङ्कित हुनुपरेको बताउनुभयो । सरकारले चोरी नियन्त्रण गर्न व्यवसायीलाई आतङ्कित पारेको छ, अध्यक्ष श्रेष्ठले भन्नुभयो, सामान चोरी हुन्छ भनेर लगाइएको भीसीटीएस प्रणालीलाई थेग्न व्यवसायीले सक्दैनन् ।
कार्यक्रममा महासङ्घका महासचिव राजेन्द्र बानियाँले ट्रक व्यवसायीले मूल्य अभिवृद्धि कर (भ्याट) र भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ प्रणाली (भीसीटीएस)लाई अङ्गीकार गर्न नसक्ने बताउनुभयो । उहाँले तीनै तहका सरकारले कर मात्रै असुल्ने तर व्यवस्थापनमा सहयोग नगर्ने नीति लिइएको गुनासोसमेत गर्नुभयो ।
कार्यक्रममा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीले राज्यले लगानीको वातावरण सुनिश्चित गर्नुपर्ने बताउँदै नीति र नियमका कारण परेका समस्याको समाधान खोज्नुपर्ने सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्