विराटनगरका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु

विराटनगरका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु

विराटनगर  । आइतबारदेखि विद्यालयमा विराटनगर महानगरपालिकाले दोश्रो चौमासिक अन्तर्गत खाजा खाने टिफिनसहित दैनिक २० रुपैयाँ प्रतिविद्यार्थी उपलब्ध गराउन सुरु गरेको छ।

सामुदायिक विद्यालय दिवा खाजा उद्घाटन कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले विद्यार्थीलाई यो प्रयोगले विद्यालयमा टिकाउनेमा मद्दत गर्ने आशा रहेको बताएका छन्। सरकारी विद्यालयको स्तरोन्नति गर्न महानगर प्रतिवद्ध रहेको बताएका मेयर पराजुलीले विपन्न, गरिब, पिछडावर्गका बालबालिकालाई शिक्षाप्रति मोह जगाउन खाजा अभियानले सकारात्मक भूमिका खेल्नेमा आशावादी रहेको बताए।

विद्यालय व्यवस्थापनको पक्षबाट यस कार्यक्रमलाई सफल रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा शिक्षातर्फ महानगरको बजेट थप बढ्ने उनले बताए।

चिसो सिरेटो र जाडोको वेवास्ता गर्दै नाङ्गो खु्ट्टा, कमिजमा कार्यक्रममा विद्यार्थीको उपस्थितिमा देखेपछि मेयर पराजुलीले केहीदिन भित्र विद्यालयका विद्यार्थीलाई झोलासहित जुत्ता–मोजा र न्यानो कपडा प्रदान गर्ने घोषणा समेत गरे।महानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा शिक्षा महाशाखा प्रमुख दुर्गा खतिवडाले पहिलो चरणमा महानगरका १८ र १९ वडाका ९ वटा विद्यालयका एक हजार विद्यार्थीलाई टिफिन बक्स र दैनिक २० रुपैयाँ उपलब्ध गराउने जानकारी दिए।

हिजोका दिनमा खाजा खान घर फर्कने, पैसा नभएर भोकै पढ्नुपर्ने बाध्यतालाई केही हदसम्म यस कार्यक्रमले राहत दिने खतिवडाको भनाइ छ। सानै उमेरबाट बालबालिकालाई शिक्षाप्रति मोह जगाउन यस प्रकारको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने महानगरको बुझाइ छ।

महानगरले दैनिक रकम उपलब्ध गराउने सन्दर्भमा विद्यालयमा विद्यार्थीको दैनिक हाजिरी हुनुपर्ने प्रावधान राखेको छ। महानगरले यस कार्यक्रमले राम्रो गति लिए बजेट बढाउँदै अन्य विद्यालयमा समेत अघि बढ्न सक्ने जनाएको छ। महानगरका १९ वडामा कुल ७६ वटा विद्यालय रहेकोमा ५६ वटा सरकारी विद्यालय र २० वटा गुरुकुल, मदरसा रहेका छन्।

यस कार्यक्रमका लागि महानगरले ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। जसमध्ये पहिलो चरणमा विभिन्न ९ वटा विद्यालयका एक हजारको संख्यामा विद्यार्थी लाभान्वित हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्