धितोको नाममा घरजग्गा अर्कोलाई पास गराउन दलाल सक्रिय, धेरैको बिल्लीबाठ

धितोको नाममा घरजग्गा अर्कोलाई पास गराउन दलाल सक्रिय, धेरैको बिल्लीबाठ

विराटनगर । बेलवारी नगरपालिका वडा नम्बर ४ का हिरालाल विश्वकर्माका वुवा सिकिस्त बिरामी भए । चिनेजानेकै महेन्द्र तामाङ सम्पर्कमा आए । उनले उपया निकालिदिए जग्गा धितो राखेर ऋण लिने ।
महेन्द्रले हिरालाललाई जग्गा धितो राखेर पैसा ऋण दिने मान्छे मिलाए वापतको कमिशन मागे । अप्ठेरो परेको बेला त्यस्तो कुरा आएपछि उनले सहजै स्वीकार गरे । त्यसपछि सम्पर्कमा आए ओखलढुंगा स्थायीघर भई सुनसरी इटहरीमा बस्दै आएका पुशपति राई । हिरालालले आफै बस्दै गरेको घर र २ कठ्ठा १० धुर जग्गा ३ लाख रुपैयाँमा पशुपति राई की श्रीमती भेषकुमारी राईलाई मालपोत कार्यालय बेलबारीमा राजिष्ट्रेशन पास गरिदिए ।
हिरालालले घर जग्गा धितोको नाममा रजिशट्रेशन पास गर्नु अघि तीन लाख रुपैयाँ ऋण लिएको र तीन बर्ष भित्रमा ११ प्रतिशतले व्याज सहित रकम फिर्ता गर्ने र जग्गा वापस हुने कागज गरे । यो कागज गरेको ४ बर्ष बितेको छ । ३ लाख रुपैयाँको कागज गरेर घर जग्गा पास गरिदिए पनि हिरालालले २ लाख ७० हजार रुपैयाँ मात्रै पाए । ३० हजार रुपैयाँ उनले पहिले नै कवुल गरेको कमिसन बापतको रकम महेन्द्र तामाङ र अब्दुल राईलाई बुझाए ।
तीन बर्षमा तीनलाख रुपैयाँ व्याज सहित फिर्ता गर्ने कागज अनुसार तीन बर्षपछि पैसा लिएर पशुपति राईकोमा हिरालाल गए तर पुशपतिले आज भोली भन्दै जग्गा फिर्ता गरेनन् ।
दुई बर्षपछि धरान स्थित प्राइम बैकको शाखा कार्यालयले घर जग्गा लिलामी भएको र घरबाट हट्न भन्दै पत्र पठाएपछि हिरालालको परिवारले बल्ल थाहा पायो । पशुपतिले १५ लाखमा बैकमा राखेर नतिरेपछि बैकले लिलामको सुचना गरिसकेको रहेछ ।
धुरकै डेढलाख रुपैयाँ भन्दा बढि पर्ने जग्गाको अहिले १५ लाखको साहुँ व्याज बुझाँउछु भन्दा पनि हिराललको परिवारले जग्गा उकास्न सकेको छैन ।

ठगीको बिषयमा सबैको चासो
यो त एउटा उदाहरण मात्र हो । धितोको नाममा हुने राजिनामा पास, बेलवारी नगरपालिकाको ठुलो समस्याको रुपमा देखिएको छ। एक ब्यक्तिलाई धितोको नाममा गरिएको राजिनामा पास गर्ने क्रम धेरै ब्यक्तिसम्म पुग्न थालेपछि यो समस्या बिकराल भएको हो ।
यसबाट धेरै संख्यामा सर्बसाधारण प्रभावित भएका छन् । यसलाई तत्कालिन र दिर्घकालिन रुपमा समाधान खोजिने सरोकारवालको भनाई छ । संवाद समुहले आयोजना गरेको संवादमा बैंङ्किङ कारोवारलाई सहज नबनाउँदा यो बिषय समस्याको रुपमा रहेको औल्याईएको छ । यो बिषयलाई तत्काल समस्या समाधानको पहल थालिनु पर्ने सहभागीको भनाई छ ।
संवादको क्रममा बेलवारी नगरपालिकाका उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, बैंकका म्यानेजर, प्रहरी, नापी तथा मालपोत कार्यालयका प्रमुखहरुका बिचमा भएको संवाद पछि धितो कारोवारको नाममा हुने राजिनामा पासको समस्या समाधानका लागि बैंकको तर्फबाट धितोपास गर्दा आउने समस्याको बारेमा बैंकहरुले सचेतना दिन बितीय साक्षरता अभियान तल्लो तहसम्म पुर्याउने जनाएका छन् ।
राजिनामा, दृष्टी बन्धक लगायत कानुनी प्रक्रियाको बारेमा नागरिकलाई बुझाउन नसक्दा उनीहरुको जायजेथा अरुको नाममा पुग्ने गरेको पाईएकाले यस बारेमा सर्बसाधारणलाई बुझाउने र साँक्षी वा उसको घर परिवारको ब्यक्तिहरु झिकाएर थप सोधीखोजी गर्न मालपोत कार्यालयले पहल थाल्ने पनि संवादबाट निश्कर्ष निस्किएको छ ।
जनचेतना जगाउने काम वडा तहदेखि पनि संचालन गर्नेगरी काम थाल्ने तयारी भएको छ । जनप्रतिनिधिले सिफारिस दिने बेलामा नै कडाई गर्ने र यसलाई दलहरुले सहयोग गर्ने पनि छलफलबाट सहमतीको रुपमा निश्कर्ष निस्किएको छ । नगरपालिकाको तर्फबाट बीतीय साक्षरता अभियान हरेक वडामा संचालन गर्ने र धितो कारोवार निरुत्साहित गर्ने फ्लेक्सहरु टाँस्ने नगरपालिकाले जनाएको छ । तर दिर्घकाल समस्या समाधानका लागि तहगत रुपमा सरकारहरुले नीति बनाई आम नागरिकको जीवन स्तर सुधार गर्न तर्फ केन्द्रित हुनु पर्नेमा सहभागीको जोड छ ।

नगरपालिकाकी कानुन शाखा प्रमुख तारा भट्टराईले घितो कारोवारका नाममा राजीनामा पास गरेर ठगीमा पर्नेहरुको संख्या बढ्दै गएको बताउनुभयो । पालिकामा १० वटा मुद्दा दर्ता भईसकेको जानकारी दिनुभयो । धितोको नाममा पहिला एउटा कागज गर्ने अनी अर्काको नाममा राजीनामा पास गरेपछि कानुनी रुपमा त्यो सम्पतीमाथि उसको कुनै स्वामित्व नै नखुलेपछि त्यही सम्पती एक पछि अर्को गर्दै धेरै ब्यक्तिमा पुग्ने गरेको भट्टराईले बताउनुभयो ।
यसरी धितोको नाममा राजीनामा पास गराउनको लागि गिरोह नै सक्रिय रहेको स्थानीय ब्यवसायीहरु बताउँछन् । ब्यवसायी राजेश कार्की महिनाको २० हजार आम्दानी गर्ने ब्यक्तिलाई बैंकले ऋण नपत्याउँदा धितोपास समस्याको रुपमा देखिएको बताउनुहुन्छ । यस्तो अबस्थामा धितो कारोवार गर्ने ५ जनालाई कार्वाही गर्न सक्यो भने मात्र पनि बेलवारीको समस्या समाधान हुने कार्कीको दाबी छ ।

समाजवादी पार्टीका तिलक राईले धितो कारोवारको बिगबिगी रहेको दाबी गर्नुभयो । सम्पन्न व्यक्तिहरु पनि ५÷१० प्रतिशतको लालचमा लाग्ने गरेको जानकारी दिनुभयो। यो धितोको नाममा हुने राजीनामा पास समाधान गर्नको लागि स्थानिय पालिकाले नै अग्रसरता देखाउनु पर्ने उहाँको भनाई छ ।
बेलवारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले धितोको नाममा हुने राजिनामा पास २ तिहाईले बढ्दै गएको सुनाउनुभयो । नगरपालिकाकी उपमेयर ढाका पराजुलीले नगरपालिका भित्र समस्या देखि रहँदा पनि कुनै समाधानको लागि प्रहरीबाट सहयोग नभएको बताउनुभयो । ईलाका प्रहरी कार्यालयको लापरवाहीका कारणले पनि समस्या थप बल्झिएको उहाँको आरोप छ । ‘ईलाका प्हरी कार्यालयले सहयोग गरेको छैन, उहाँले भन्नुभयो, प्रहरीले सहयोग नगर्दा, पीडितहरु थप पिडामा पर्ने गरेका छन् ।’

ईलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले लेनदेनको बिषय प्रहरीको प्राथमितामा नपर्ने बताउनु भयो । ‘अहिले आएका धितोसँग सम्बन्धित बिषय कुनै पनि प्रहरीसँग सम्बन्धित छैनन्, प्रहरी निरिक्षक बुढाथोकीले भन्नुभयो, यो लेनदेनको कुरा भएकोले प्राथमिकतामा पर्दैन ।’ प्रहरी निरीक्षक बुढाथोकीले राजिनामा, दृष्टी बन्धक लगायतको बारेमा नागरिकलाई बुझाउन सक्नु पर्ने बताउनुभयो । तर उहाँले लेनदेनमा ठगी भएको कागज पुगेको अबस्थामा भने मुद्दा समेत चलाउन सकिने उल्लेख गर्नुभयो ।

मालपोत अधिकृत गणेश खड्काले अहिले पनि राजीनामा पास गर्न आउने ब्यक्तिलाई दुई लेवलमा ईन्क्वाईरी हुने गरेको जानकारी दिनुभयो । राजीनामा पास गर्न आउनेहरुको हकमा रकम लिए नलिएको बारेमा सोध्ने गरिएको सुनाउनुभयो । ‘धितोको नाममा अर्कालाई थोरै रकमको लागि आफ्नो स्वामित्व नै गईसकेको अबस्थामा सर्तको कागजको महत्व छैन, अधिकृत खड्काले भन्नुभयो, पास गरेर दिएको जग्गा फेरी मेरो हो भन्ने अधिकार नहुने भएकोले सर्बसाधारणको बाध्यतामा खेल्ने काम भएको छ ।’
बाध्यतामा जे पनि स्वीकार गर्ने परम्पराले निक्कै अप्ठेरो पारेको पछिल्लो घटनाहरुबाट देखिएको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष बिश्वबन्धु बस्नेतले यो समस्या बेलवारी नगरपालिकामा ५० प्रतिशतसम्म परेको पाईएको जानकारी दिनुभयो । धितो भनेको दृष्टी बन्धक गर्नु पर्ने हो तर त्यही धितोको नाममा जग्गा नै राजीनामा पास गर्ने काम भएकोले अहिले धेरै सर्बसाधारण फँसेको उहाँले जानकारी दिनुभयो ।
वडा अध्यक्ष यामबहादुर पोखरेलले लगानी गराउनको लागि एजेण्टहरु गाउँ गाउँमा रहेको बताउनु भयो । कमिशनको लोभमा गाउँका सर्बसाधारणको जग्गा थोरै रकममा आफ्नो नाउमा ल्याउँने अनी त्यही जग्गा बैंकमा धितो राखेर बढी रकम लिने त्यो क्रम दशौँजना सम्म पुग्दा पनि धनीलाई थाहा नहुने गरेपछि समस्याको रुपमा आएको हो । यस्तो समस्यामा बढी महिलाहरु परेका छन् । एकिन तथ्यांक नभएपनि यस्तो समस्या लिएर ४ सय बढी बेलवारी नगरपालिकाको न्यायीक समितिमा आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्