‘बहुलाकाजीको सपना’ हेर्न विराटनगरको गुरुकुलमा भिड

‘बहुलाकाजीको सपना’ हेर्न विराटनगरको गुरुकुलमा भिड

विराटनगर। विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आइतबारदेखि विजय मल्लको ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन सुरु भएको छ ।
विराट आदर्श साहित्य मञ्चको तेस्रो प्रस्तुतिका रुपमा रहेको नाटक फागुन ९ गतेसम्म मञ्चन हुनेछ । आरोहण गुरुकुलसँगको सहकार्यमा सुरु भएको नाटकमा अभिनय गर्ने कलाकारहरू विभिन्न कलेज र विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । नाटकले गरिबी, असमानतालाई सशक्त रुपमा उठाएको छ । नाटक हेरिसकेपछि प्रदेश–१ को सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईले कलाकारहरूले जीवन्त अभिनय गरेको प्रतिक्रिया दिए ।
नाटकमा नेपाली समाजको कारुणिक चित्रण गरेको उनको भनाइ थियो । कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेलले नाटकले गरिबी, विभेद, सामन्ती प्रवृत्तिलाई उदाङ्गो बनाएको बताए । हिसान मोरङका निवर्तमान अध्यक्ष बलराम पन्तले हरेक विद्यार्थी मात्रै नभएर आम अभिभावकले समेत नाटक हेर्नुपर्नेमा जोड दिए । आयोजक संस्थाका प्रमुख सल्लाहकारसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदितले विराटनगरका दर्शकले मञ्चले प्रस्तुत गरेका विगतका नाटकझैं बहुलाकाजीको सपना पनि मन पराउने विश्वास व्यक्त गरे ।
कक्षा ११ र १२ को पाठ्यक्रममा समावेश नाटकमा विवेक आचार्य, सन्देश बाराकोटी, अशोक गौतम, आशुतोष कोइराला, मनिषा बराल, प्रिया कँडेल, अनिल खत्री, प्रदीप दाहाललगायतका कलाकारले अभिनय गरेका छन् । नाटक ५ हजार दर्शकले हेर्ने अनुमान गरिएको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । यसअघि मञ्चले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतिमा आधारित मुनामदन र वरिष्ठ आख्यानकार परशु प्रधानको कथामा आधारित ‘छिडीभरिको आकाश मञ्चन गरिसकेको छ । मञ्चले ‘स्रष्टा र सिर्जना’ साहित्यिक शृंखलासमेत सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्