मासिक ५० रुपैयाँमा फोहोर संकलन तथा व्यवस्थापन गर्दै हेटौंडाका स्थानीय निकाय

मासिक ५० रुपैयाँमा फोहोर संकलन तथा व्यवस्थापन गर्दै हेटौंडाका स्थानीय निकाय

शिवकुमार काशी

हेटौँडा, मकवानपुर । स्थानीय तहको गठनपछि जनप्रतिनिधि आएपछि वातावरणीय सुधारको क्षेत्रमा विभिन्न स्थानीय तहहरुमा काम भएको पाइएको छ । देशमै सरसफाइ युक्त सहरको परिचय बनाएको हेटौँडा उपमहानगरपालिकापछि मकवानपुरकै मनहरी गाउँपालिकाले सरसफाई अभियानमा नमूना कार्यक्रम प्रस्तुत गरेको छ । पश्चिम मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिका प्रवेश गर्ने मनहरी बजारको सफाई अभियानमा गाउँपालिकाले अभिभावकत्व भूमिका निर्वाह गरेपछि वातावरणीय सुधार भएको हो ।

गाउँपालिका मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिसँगको साझेदारीमा अहिले वडा नं ७ को मनहरी बजार, लामाबस्ती, प्याङ्चे र लामाबस्तीमा हरेक हरेक दुई दिनको फरकमा फोहर संकलन गर्न ट्रयाक्टर जाने गर्छ । घर, पसलसहित अन्य व्यापारिक प्रतिष्ठानहरुबाट निस्कने फोहरहरुलाई ट्रयाक्टरमा खन्याएर डम्पिङ साइटसम्म लैजाने व्यवस्था मिलाइएपछि वातावरणीय फोहर घटेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

विगतमा मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिले फोहर संकलन गर्नेगरेको थियो । तर, जनप्रतिनिधि आएपछि आर्थिक ऐनमै उल्लेख गरी सशुल्क फोहर संकलन कार्यलाई निरन्तरता दिएपछि स्थानीय उपभोक्ताहरु समेत खुसी भएको अध्यक्ष उप्रेतीले बताउनुभयो । ‘सफाई अभियानलाई अहिले साबिक हाँडीखोलातर्फका वडाहरुले पनि माग गर्न थालेका छन्’ अध्यक्ष उप्रेतीले भन्नुभयो–‘यो अभियानले लोकप्रियता हासिल गरेको छ ।’

खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष भुवनकुमार जोशीका अनुसार अहिले मनहरी गाउँपालिकाको वडा नं ७, ८ र ९ का बस्तीहरुमा रुट मिलाएर ट्रयाक्टर पठाउने गरिएको छ । गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए अनुसार फोहर संकलन गरेबापत सामान्य घरधनीले मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई मासिक रु.५० तिर्नुपर्छ ।

अन्य पसलहरुले मासिक एकसय, ठूला तरकारी पसल तथा होलसेल पसलहरुले मासिक ५०० रूपियाँसम्म तिर्नुपर्ने प्रावधान आर्थिक ऐनमा छ । ‘अहिले ६ सय घरधुरी परिवार र व्यवसायीहरुलाई हामीले सेवा दिएका छौँ’, उपाध्यक्ष जोशी भन्नुहुन्छ–‘यो अभियान अन्य गाउँहरुले माग गरेपनि र एउटा मात्रै ट्रयाक्टरबाट सम्भव नहुने भएकाले अरु ट्रयाक्टरहरु थप्न गाउँपालिकामा माग गरिरहेका छौँ ।’

गाउँपालिकाले फोहर संकलन कार्यलाई व्यवस्थित बनाएपछि बजार सफा हुँदै गएको मनहरी बजारका व्यवसायी सुदर्शन सुवेदीले बताउनुभयो । संकलित फोहर राप्तीखोलाको किनारमा निर्माण गरिएको डम्पिङ साइटमा थुपार्ने गरिएको छ । छिट्टै फोहरको बर्गीकरण गरी आर्थिक उपार्जनसँग जोड्ने डम्पिङ साइटलाई व्यवस्थित गर्नेबारे योजना बनिरहेको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्