कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन : कोइराला

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।
बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी गरे । उनले संसदमा समेत कांग्रेसको उपस्थिति कमजोर भएको उल्लेख गरे ।

“नेकपाका साथीहरू नै प्रमुख प्रतिपक्ष अलि कडा रुपमा उत्रिनु परो भन्नुहुन्छ,” उनले भने, “नेकपा नेताहरू नै सरकारको कामबाट सन्तुष्ट छैनन् । सरकारका गलत कामको प्रतिपक्षले आवाज उठाइदिए हुन्थ्यो भन्ने उहाँहरूको चाहना छ । जुनरुपमा कांग्रेसले आवाज उठाउनुपर्ने हो त्यसअनुसार उठाउन सकेको छैन ।” कांग्रेसप्रति जनताको ठूलो आशा र भरोसा रहेको कोइरालाले भनाइ थियो ।
आफ्नै सरकार भएकाले नेकपाका नेताले विरोध गर्ने आँट गर्न नसकेको उनको कथन थियो । नेकपाका नेताहरू नै सरकारको कामबाट वाक्क भइसकेको कोइरालाको टिप्पणी थियो । कांग्रेसले संसदमा आफूलाई खरो रुपमा प्रस्तुत गर्न नसकेको कोइरालाले बताए । राष्ट्रिय राजनीति, सरकारका गलत क्रियाकलाप, जनताका समस्यालाई कांग्रेसले संसदमा सशक्त रुपमा उठाउनुपर्नेमा उनले जोड दिए ।
भागबण्डाको राजनीतिले कांग्रेसलाई कमजोर बनाएको कोइरालाको ठम्याइ थियो । कोइरालाले शेरबहादुर देउवा सभापति भएपछि भागबण्डाको राजनीति झनै झ्यांगिएको दाबी गरे ।

सरकारले गलत काम गर्ने व्यक्तिलाई कारबाही नगर्दा सरकारप्रति जनताको वितृष्णा बढ्दै गएको कोइरालाले प्रस्ट्याए । वाइडबडी, निर्मला हत्याकाण्ड, ३३ किलो सुन, ७० करोड कमिसनलगायतका काण्डका कारण सरकारप्रति जनताको विश्वास गुमेको उनको भनाइ थियो । उनले सरकार र पार्टीहरूले गरेका गलत कामका विषयमा आवाज उठाउन प्राध्यापक र बुद्धिजीविसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्