प्रदेश १ मा ईयुका राजदुत : मुख्यमन्त्रीसँग संघीयता कार्यान्वायन बारे चासो

प्रदेश १ मा ईयुका राजदुत : मुख्यमन्त्रीसँग संघीयता कार्यान्वायन बारे चासो

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालका राजदुत भेरोनिका कोडीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मुख्यमन्त्री राईसँग राजदूत कोडीले भेटवार्ता गर्नुभएको हो ।
भेटवार्ताको क्रममा राजदूत कोडीले बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा गरेको कामहरु मुख्यमन्त्री राईलाई जानकारी गराउनु भएको थियो । त्यस्तै राजदूत कोडीले संघीयता नेपालको लागि अवसर भएको बताउनु भयो । संघीयता लागू भएको देशहरुमा पनि यसको कार्यान्वयनमा समय लागेको उहाँको धारणा थियो ।
संघीयता कार्यान्वयन, कर्मचारी समायोजन लगायतका विषयमा राजदूत कोडीले जिज्ञासा राख्नुभएको थियो । उहाँले प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा गर्नुका साथै डिजिटल प्रदेशको अवधारणा राम्रो रहेको बताउनुभयो ।


भेटवार्तामा मुख्यमन्त्री राईले नेपालले संघीयता पहिलो पटक अवलम्बन गरेको र मौलिकतामा आधारित रहेको बताउनुभयो । नेपाल विविधताले भरिएको देश हो, हामीले अवलम्बन गरेको संघीयता मौलिकतामा आधारित छ, मुख्यमन्त्री राईले भन्नुभयो ।
प्रदेश संरचना नयाँ रहको बताउँदै मुख्यमन्त्री राईले शुन्य संरचनाबाट सुरु भएर यो दुई वर्षमा महत्वपूर्ण आधारहरु तयार भएको जानकारी गराउनुभयो ।
‘हाम्रा लागि यो दुई बर्ष निकै महत्वपूर्ण बर्ष रहे, मुख्यमन्त्री राईले भन्नुभयो कानुन निर्माण र आवश्यक संरचनाहरु तयार भएका छन् ।’ प्रदेश तहमा जनशक्ति अभाव रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश लोकसेवा आयोग गठन भएकोले समस्या समाधान हुने बताउनुभयो ।
जनताका असिमित चाहना र सिमित स्रोतकाबीच काम गरिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । प्रदेश सरकारले पञ्चवर्षीय आवधिक योजना, १० बर्षे सडक गुरुयोजना सार्वजनिक गरिसकेको भेटवार्ताका क्रममा बताउनुभयो ।
मुख्यमन्त्री राईले साना सिँचाइ, सहरी विकास, पर्यटनको गुरुयोजना बनिरहेको बताउँदै चिफ मिनिस्टर ड्यास बोर्डको काम भइरहेको बताउनुभयो । रुपान्तरणकारी योजनाहरुको सूची बनाउँदै लगानी सम्मेलन गर्न प्रदेश सरकारले तयारी गरिरहेको मुख्यमन्त्री राईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्