विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र कोसी कलेज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा विराटनगरको कोसी मल्टिपल कलेजले रंगेलीको जनप्रिय माविलाई ७–० गोलमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ भने विराटनगरको कान्तिपुर कलेजले दुहबीको महेन्द्र मेमोरियल एकेडेमीलाई ३–० गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको लिग चरणअन्तर्गत समूह ‘बी’ तर्फका सम्पूर्ण खेल सम्पन्न भएका छन् । लिग चरणमा समूहको कान्तिपुर पहिलो र गोल एभरेजका आधारमा कोसी दोस्रो स्थान भएको छ । कोसी र महेन्द्रको बराबरी ४–४ अंक भएपछि गोल एभरेजका आधारमा कोसी दोस्रो भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा कोसीका रितिक खड्काको ४ गोल मद्दतले जनप्रिय माविलाई ७–० को फराकिलो गोलअन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको १५ औं मिनेटमा रितिक खड्काले गोल गरे । १८ औं मिनेटमा पर्शु राई गोल थपे लगत्तै रितिक खड्काले गोल गरे । पुनः २८ र ५३ औं मिनेटमा रितिक खड्काले गोल गरे भने ५० र अन्तिम समयमा कासिम राईले गोल गरे । खेलको म्यान अफ द म्याच रितिक खड्का भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।
त्यसैगरी दोस्रो खेलमा कान्तिपुर कलेजले महेन्द्र मेमोरियल एकेडेमीलाई ३–० गोलमा पराजती गरी अन्तिम चारमा स्थान पक्का गरेको छ । खेलको ३२ औं मिनेटमा विवेक चौधरीले गोल गरे । ३९ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गरे भने खेलको अन्तिम समयमा रोमन भुजेलले गोल थपे । खेलको म्यान अफ द म्याच कान्तिपुरका विवेक चौधरी भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षकले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा, सर्वाधिक गोलकर्ताले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट डिफेन्स र मिडफिल्डले जनही नगद १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा सानिमा इन्स्योरेन्स, न्यूरो अस्पताल र बैंकतर्फ सप्तकोसी बैंकको सहयोग रहेको छ ।
प्रतियोगिताको सेमिफाइनल खेलअन्तर्गत बुधबारको पहिलो खेल निहारिका र कोसी कलेज तथा दोस्रो खेल कान्तिपुर र ग्रिनल्याण्ड कलेजबीच हुनेछ ।