अन्तर कलेज फुटबलको उपाधी विराटनगरको निहारिकालाई

अन्तर कलेज फुटबलको उपाधी विराटनगरको निहारिकालाई

विराटनगर । विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा निहारिका कलेजले उपाधि जितेको छ ।

 

विराट बुद्ध स्पोर्टिङ क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न फाइनल खेलमा विराटनगरको निहारिका कलेजले विराटनगरकै ग्रिनल्याण्ड कलेजलाई ३–१ गोलमा पराजित गर्दै उपाधि जितेको हो । जितसँगै नगद १ लाख ११ हजार रुपैयाँका साथै शिल्ड प्राप्त गरेको छ ग्रिनल्याण्ड उपविजेता हुँदै नगद ७५ हजार रुपैयाँमै चित्त बुझायो । निकै कडा प्रतिष्पर्धात्मक रहेको खेलमा निहारिकाले पाएको अवसरलाई सदुपयोग गर्न सफल भयो भने ग्रिनल्याण्डले पाएका केही अवसर चुकाउँदा हार व्यहोर्नु प¥यो ।

खेलको ११ औं मिनेटमा निहारिकाका पृथ्वी चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि लामो समय दुवै टोलीले गोलका धेरै प्रयास गर्दै ६३ औं मिनेटमा निहारिकाका रविन राईले गोल थपे लगत्तै पुनः रविन राईले गोल थप्दै गोल संख्या बढाए । ७२ औं मिनेटमा एकमात्र सान्तवना गोल ग्रिनल्याण्डका लागि संजय धिमालले गरेका थिए । खेलको म्यान अफ द म्याच निहारिकाका सूर्य थापा भए । उनले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडी निहारिकाका रविन राईले नगद १५ हजार रुपैयाँका साथ १ वर्षको ५ लाख रुपैयाँको बिमा, उत्कृष्ट गोलरक्षक निहारिकाका प्रमोजय चौधरीले नगद १० का साथ २ लाख ५० हजार रुपैयाँको १ वर्षका लागि बिमा प्राप्त गरे । त्यस्तै उत्कृष्ट डिफेन्स निहारिकाका झमक मगर र उत्कृष्ट मिडफिल्ड ग्रिनल्याण्डका मनिष थापाले जनही नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिता अनुशासित टिमको पुरस्कार पथरीको रेडस्टार माविले प्राप्त गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, एन्फाका सह–महासचिव वसन्त अर्याल, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, क्लबका अध्यक्ष रोहित कोइरालालगायतले खेलाडीलाई पुरस्कार प्रदान गरे ।
प्रतियोगिताको मुख्य सहयोगी संस्था विराटनगर महानगरपालिका र सानिमा इन्स्योरेन्स, न्यूरो अस्पताल र बैंकतर्फ सप्तकोसी बैंकको सहयोग रहेको छ ।
प्रतियोगितामा विराटनगरका ग्रिनल्याण्ड, निहारिका, हिमालय दर्शन, कान्तिपुर, कोसी मल्टिपल, पथरीको रेडस्टार मावि, रंगेलीको जनप्रिय मावि र दुहबीको महेन्द्र मेमोरियल एकेडेमीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्