आज अन्तर्राष्ट्रिय खुसी दिवस, यस पटक खुसीमा कोरोनाको ग्रहण

आज अन्तर्राष्ट्रिय खुसी दिवस, यस पटक खुसीमा कोरोनाको ग्रहण

चाँदनी हमाल

काठमाडौँ, चैत ७ गते । आज अन्तर्राष्ट्रिय खुसी दिवस । तर यस पटक विश्वको खुसीमा कोरोनाको ग्रहण लागेको छ । यद्यपि मानिस खुसी हुने उपायको खोजी गरिरहेकै छन् । संयुक्त राष्ट्रसङ्घले गरिबी र असमानता हटाउँदै हाम्रो पृथ्वीको संरक्षण गर्न दिगो विकास लक्ष्यका १७ उद्देश्यले सघाउने र विश्वमा खुसी ल्याउने अवधारणा खुसी दिवसको रहेको प्रस्ट्याएको छ ।

सन् २०१२ जुलाईमा मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने घोषणा भएको थियो ।
फिनल्यान्ड विश्वमै सबैभन्दा खुसी देश हो । तर कोरोना भाइरसको सङ्क्रमणले त्यहाँका मानिसको खुसीलाई निराशामा बदल्दैछ । पछिल्लो समय कोराना सङ्क्रमितको सूचीको २५औँ स्थानमा फिनल्यान्ड छ । त्यहाँ ३५९ जनामा सङ्क्रमण भइसकेको छ । खुसी देशको दोस्रो स्थानमा रहेको डेनमार्कमा यति बेलासम्म एक हजार ४४ जनामा कोरोनाको सङ्क्रमण देखिएपछि पहिलेको खुसी हराउँदैछ । बढी सङ्क्रमित देशको १६ नम्बरमा रहँदा त्यो देशमा पहिले कायम रहेको खुसीको सूचकाङ्क कहाँ पुगेको होला ? यो प्रश्न हरेकले गरिरहेकै छन् ।

विश्वको तेस्रो खुसी देश नर्वे सङ्क्रमित देशमध्ये १३औँ स्थानको बढी सङ्क्रमण भएको देशमा परेको छ । यहाँ एक हजार ४२३ बाट अझ सङ्क्रमणको दर उकालो लाग्दैछ । नर्वेको खुसीमा कोरोना भाइरसको ग्रहण परेको छ । नेपालमा चीनबाट आएका एक व्यक्तिमा कोरोना सङ्क्रमण भए पनि उपचार भइसकेको छ र थप सङ्क्रमण भेटिएको छैन । खुसीको सूचकाङ्कमा नेपाल सयौँ स्थानमा रहेको छ । विश्वकै सबैभन्दा कम खुसी देश सुडानमा दुई जना सङ्क्रमित भेटिएको छ । मानिसमा बढ्दै गएको अनावश्यक भयलाई छाड्ने हो भने विश्व स्वास्थ्य सङ्गठनको सूचकाङ्कमा नेपाल यति बेला धेरै खुसी र सुखी देशमा दरिएको प्रस्ट हुन्छ । किनभने हालसम्म विश्वका १७० भन्दा बढी मुलुक कोरोना भाइरसले ग्रस्त छन् । चीन हुँदै यो भाइरस युरोपलगायत विश्वभर फैलँदो छ ।

एसियाकै थाइल्यान्ड, मलेसिया, पाकिस्तान जस्ता देशमा सङ्क्रमणको ज्वारभाटा उकालिँदै छ । यस्तोमा नेपाल सरकारले गर्नुपर्ने बचावटको पहल एकातिर छँदैछ । त्योबाहेक मानिस आफैँले कोरोनाबाट बच्ने व्यक्तिगत पहल गर्नुपर्ने स्वास्थ्य, आयुर्वेद, मनोविद् तथा अन्य विज्ञ बताउनुहुन्छ । जुन अवस्थामा रहे पनि आफू, आफ्नो परिवारका सदस्य र समुदायलाई सङ्कट र जोखिमसँग नडराई सामना गर्ने र खुसी भएर मनोबल र प्रतिरोध क्षमता बलियो पार्न उहाँ सुझाउनुहुन्छ ।

खुसीका लागि केही नियमको पालना निरन्तर गरेमा त्यो प्राप्त हुने पुष्टि अमेरिकास्थित येल विश्वविद्यालयका मनोविज्ञान र संज्ञान विषयका प्रा. लोरी सान्तोस गर्नहुन्छ । उहाँका अनुसार ती नियममा कृतज्ञताको सूची कायम गरी आफू धन्य वा कृतज्ञ हुने कुरा एक हप्ताभर हरेक साँझ लेख्नुपर्छ । सामाजिक सञ्जालको प्रयोग कम गर्नेभन्दा नगर्ने व्यक्ति बढी खुसी पाइएकाले यो अर्को नियम रहेको उहाँ उल्लेख गर्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्