विराटनगर । कोभिड( १९ कोरोना भाइरसको संक्रमणबाट सतर्क रहने क्रममा विराटनगर महानगरपालिकाले मंगलबारदेखि अर्को सूचना जारी नगरुञ्जेलसम्मका लागि लक डाउनको घोषणा गरेको छ ।
महानगरपालिकामा सोमबार सरोकारवाला निकायसंगको छलफलपछि महानगरले नगर लकडाउन गर्ने जनाएको हो । छलफलपछि महानगरका मेयर भीम पराजुलीले अत्यावश्यक बाहेकका सबैकुरा बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसक्रममा बजार क्षेत्रदेखि चौकसम्म महानगरले सुक्ष्म निगरानी गर्ने र पसल बन्द गराउनेछ । मेयर पराजुलीले औषधी उपचार, दुध, पानी, सरसफाई, खाद्यान्न लगायतका पसललाई भने बन्द नगरिने बताउनुभयो ।
कोराना भाइरस संक्रमण फैलन नदिनका लागि महानगरले चालेको कदममा सर्वसाधारणले साथ दिने अपेक्षा गरेका मेयर पराजुलीले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नगरवासीलाई आवश्यक कामबाहेक ननिस्कन अपिल गर्नुभएको छ ।
पराजुलीले यस परिस्थितीमा नगरवासीले घरभित्रै रहेर आफ्ना कार्य गर्न आग्रह गर्नुभयो ।
मेयर पराजुलीले नयाँ मानिस वडामा देखिएको खण्डमा बुझेर तत्काल वडाका पदाधिकारीलाई जानकारी गराउने अपिल गर्नुभयो ।
सर्वसाधारणको सहजताका लागि महानगरले स्वास्थ्य महाशाखाका तीनजनालाई फोकल पर्सनका रुपमा तोकेको छ। नगरभित्र केही समस्या परेको खण्डमा नजिकैको वडा कार्यालयका पदाधिकारीसंग समन्वय गर्न महानगरले आग्रह गरेको छ । यसक्रममा सर्वसाधारणलाई सहज रुपमा तरकारी तथा खाद्यान्न पुराउन चोक चोकमा राखिने महानगरले जनाएको छ ।