कविता : बेफिक्री प्रश्न – इश्वर कुमार

कविता : बेफिक्री प्रश्न – इश्वर कुमार

बेफिक्री प्रश्न- इश्वर कुमार

किन-
मृत्युलाई जिवनको संघारबाट
जिवनलाइ मृत्युको धारबाट
हेर्दा हेर्दै निदाएको छ यो समय?

किन-
चोट नमिलेर चोइटिएको चोइटा झै
चोटिएका छ्न् "चार वर्ण छत्तिस जात"?

किन-
बेश्यालएको मधुर श्वास सङ्गै
लयमा नाचि रहन्छ सत्ताको अपांग कुर्सी ?

किन -
बैँसको धित नमर्दै ,स्खलित भएर
स्खलित भइ रहेछ एउटा जुग ?

किन-
रजस्वला पश्चात् ,अर्को रजस्वला हुन नपाउदै
पठाइ रहन्छ बूढो शालिक
कुमारि युवाहरुलाई आफ्नो शुक्रकिट?

किन-
जीवनको मृत्यु र मृत्युुको जोवन
फुलि रहेछ रत्नपार्कहरुमा ?

किन-
चिहान नबनेको टुडिखेल
जन्माइ रहन्छ बलिका हुलहरु?

किन
टोलाएर टुलुटुुलु मानदेवलाइ
गुनासो सुनाइ रहन्छ चागुनारायण?

किन-
घाटमा हुन्छ नाफा घाटाको हिसाब?

किन-
बोकि हिड्छ्न पुजारी हातमा लुकाएर भगवानको किताब?

किन-
शुन्यतामा कोलाहल खोजि रहन्छ इन्द्रचोक?
कोलाहलमा शुन्यता खोजि रहन्छ सिंहदरबार?

किन-
पशु जस्ता मान्छेका भिडमा
मान्छे जस्ता पशुहरुका भिडमा
अभावको तितोले -कर्कश आवाजमा गाई रहन्छ रास्ट्रीय गान ?

किन-
उस्तै देखिन्छन ,शत्रु र आफ्नाहरु ?

किन
लेखिदैन हार्नेको इतिहास?
जित्नेको कुरुपता?

किन-
बुख्याचा घणटघर,
जन्माइ रहन्छ बहिरो समय?

किन-
धरहराको सिरानमा बसेर
चौतर्फी नगारा लगाइ रहन्छ ममि गजुर?

यस्तै यस्तै सोच्दै थिए
यत्ति कै मा छट्पटाउदै जुरुक्क उभियो एउटा ताजा शहिदको शालिक
जस्लाइ म बनाइ रहेको थिए
"सहिद संग्राहलय"को बन्द शिशा भित्र सजाउन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्