भारतमा स्थानीय किराना पसल पुन: सञ्‍चालन गर्न दिइने

भारतमा स्थानीय किराना पसल पुन: सञ्‍चालन गर्न दिइने

नयाँ दिल्ली । भारत सरकारले कोरोना भाइरसको महामारी फैलिन नदिने उद्देश्यले एक महिनाभन्दा बढी समय बन्द गरिएका स्थानीय किराना पसल पुन: सञ्‍चालन गर्न दिने भएको छ ।

भारतीय गृहमन्त्रालयले सामान्य अवस्थामाभन्दा आधा संख्यामा मानिसहरूले पसलमा काम गर्न पाउने जनाएको छ । गृहमन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार काम गर्दा पसलमा बस्‍ने व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र मानिसहरूले एकअर्काबीच दूरी कायम राख्नुपर्ने बताएको छ ।

एक अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको भारतमा ठूला व्यापारिक भवनहरू भने बन्द रहनेछन् । शुक्रबार अबेर जारी गरिएको त्यस्तो निर्देशनअनुसार लकडाउनका बेला ग्रामीण भेगमा बजार र आवासीय क्षेत्रमा सबै पसलहरू खुल्न पाउने भएका हुन् ।

तर मदिरा पसल भने बन्द खुला गर्न पाइने छैनन् । यसबाट खास गरी ग्रामीण क्षेत्रको अर्थतन्त्रलाई संकटमा पर्न नदिन र आर्थिक गतिविधिहरू क्रमिक रूपमा सञ्‍चालन गर्दै लैजाने उद्देश्यले यस्तो निर्णय गरिएको बताइएको छ ।

महमारीको उच्च जोखिम भएको आंकलन गरिएका अतिप्रभावित क्षेत्रमा व्यवसाय सञ्‍चालनमा लगाइएका प्रतिबन्धहरू अझै कायम रहनेछन् ।

भारतमा अहमदाबाद, सुरत, हैदराबाद र चेन्‍नईजस्ता क्षेत्रलाई 'ठूला र उदाउँदा हट-स्पट क्षेत्र' घोषणा गरिएको छ ।

केन्द्र सरकारले यी सहर भएका गुजरात, तेलङ्गाना र तमिलनाडु राज्यका चार जिल्लालाई निगरानीमा राखेको छ । त्यहाँ पाँच हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको फेला पारिएको छ ।

भारतमा शनिबारसम्म २४ हजारभन्दा बढी मानिसमा संक्रमित भएका छन् भने ७७५ जनाभन्दा बढीको कोरोनाकै कारण मृत्यु भएको छ । - बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्