भारतमा रेल सेवा सुरु हुँदै, बुँकिङ्ग सुरु

भारतमा रेल सेवा सुरु हुँदै, बुँकिङ्ग सुरु

भारतमा झण्डै दुई महिनापछि आज मङ्गलबारदेखि रेल सेवा पुनः सञ्चालन हुने भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मङ्गलबार देखि पुनः सुचारु हुने भएको हो ।
भारतका रेलवे मन्त्री पीयुष गोयलले ट्वीट गर्दै मङ्गलबारदेखि रेलवे पुनः सञ्चालनमा आउने जानकारी दिनुभएको हो । उहाँको जानकारीको लगत्तैपछि रेल सेवा सञ्चालनको तयारी गरिएको छ । रेल सेवाका लागि सोमबारदेखि नै अनलाइन बुकिङ हुनेछ । सोमबार अपराह्न ४ बजेदेखि अनलाइन बुकिङको काम सुरू हुन लागेको बताइएको छ । मङ्गलबारदेखि सुरु हुन लागेको यस सेवाका लागि रेलवे सेवाका काउन्टरहरूबाट भने टिकट किन्न पाइने छैन । काउन्टरमा भीडभाड हुने भएकोले अनलाइनबाटै टिकट किन्न पाइने अधिकारीहरूले जानकारी गराएका छन् ।
भारत सरकारका अनुसार मङ्गलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने छन् । भारतीय सञ्चारमाध्महरूले जानकारी दिएअनुसार नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, तिरुवनन्तपूरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ ।
भारतीय अधिकारीहरूले यात्रा गर्नुअघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच पनि गरिने जनाएका छन् । स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरूलाई रेलमा प्रवेश गर्न नदिइने बताइएको छ । त्यसैगरी यसरी यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने पनि जनाइएको छ । भारत सरकारले यसअघि अलपत्र परेका मजदूरको उद्धारका लागि पनि रेल सेवा सुरु गरेको थियो । यही मे १ देखि श्रमिक रेलहरू सञ्चालनमा ल्याएको बताइएको थियो । ती रेलले भारतका विभिन्न स्थानमा अलपत्र परेका ठूलो संख्याका मजदूर तथा विद्यार्थीको उद्धार गरेको सरकारले जनाएको छ । रासस / एनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्