दासढुङ्गा घटनाको २७ वर्ष : यथार्थ पत्ता लगाएरै छाड्ने नेकपा अध्यक्षद्वयको वक्तव्य

दासढुङ्गा घटनाको २७ वर्ष : यथार्थ पत्ता लगाएरै छाड्ने नेकपा अध्यक्षद्वयको वक्तव्य

काठमाडौं, जेठ ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने वक्तव्य जारी गरेका छन् ।

२०५० जेठ ३ गते एमालेका तत्कालीन पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो ।

तत्कालीन सरकारले गठन गरेको आयोगले घटनालाई दुर्घटना भन्यो भने तात्कालीन एमालेले घटनालाई षड्यन्त्रपूर्ण हत्या भन्यो । र आजसम्म पनि नेकपाका कार्यकर्ता यसलाई दुर्घटना मान्न तयार छैनन् ।

पार्टी एकताको दोस्रो वर्षगाँठका दिन जारी गरेको वक्तव्यमा अध्यक्षद्वयले यथार्थको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता फेरि जनाएका छन् ।

दुबैको मृत्युपछिको २७ वर्षसम्म पनि एमाले र हाल नेकपा नेताहरुले कुनै न कुनै रुपमा यो मुद्दा उठाइरहेका छन् । तर एमाले र नेकपाको पटक पटक सरकार बन्दा पनि कुनै यथार्थ तथ्यसहितको छानबिन हुन सकेको छैन ।

यसैक्रममा शनिबार जारी वक्तव्यमा अध्यक्षद्वयले भनेका छन्, ‘दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद् निधन भएको आज २७ वर्ष बितेको  छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटनामा मान्न तयार छैनन् । उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरूद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् । २७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ ।’

तत्कालीन सरकारले गठन गरेको आयोग र त्यसको प्रतिवेदनलाई चित्त नबुझाएको एमालेले नेता केपी ओली (वर्तमान प्रधानमन्त्री) कै नेतृत्वमा एक सदस्यीय आयोग गठन गरेको थियो । त्यो आयोगले घटना षडयन्त्रपूर्ण हत्या भने पन अझैसम्म प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्