न्युजिल्यान्डमा हप्ताको ४ दिन काम गर्ने नीति ल्याउने प्रधानमन्त्रीको सोच

न्युजिल्यान्डमा हप्ताको ४ दिन काम गर्ने नीति ल्याउने प्रधानमन्त्रीको सोच

काम र व्यक्तिगत जीवनबीचको सन्तुलनमा सुधार ल्याउन हप्तामा चार दिन मात्र काम गर्ने नीति धेरैपटक सफल साबित भएको पाइएको छ । यसबीच  न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा एडर्नले कोरोना माहामारीका कारण खस्किएको अर्थतन्त्रलाई माथि ल्याउन पनि यो उपाय प्रभावकारी हुन सक्ने बताएकी हुन् । अघिल्लो हप्ता फेसबुकमा पोस्ट गरिएको लाइभ भिडियोमा प्रधानमन्त्री एडर्नले देशभित्र आन्तरिक पर्यटनलाई बढावा दिनका लागि यो तरिकाबारे विचार गर्न सकिने सुझाव दिएकी हुन् ।

कोभिड–१९ का कारण मानिसहरु अहिले लामो समयदेखि  लकडाउनमा रहनुपरिरहेको छ भने अधिकांश देशको सिमाना बन्द गरिएको हुँदा अन्तर्राष्ट्रिय यात्राको मागमा ठूलो गिरावट आएको छ । त्यसैले पर्यटन क्षेत्रलाई जोगाउन देशभित्रै पर्यटन गतिविधि बढाउने प्रयास गर्न सकिने उनले बताएकी हुन् ।

उनले भनेकी छन्, “मलाई धेरैजनाले हप्तामा चार दिन काम गर्ने नीति अपनाउन भनिरहेका छन् । र यो वास्तवमै प्रभावकारी हुन पनि सक्छ । ” उनका अनुसार न्युजिल्यान्डको पर्यटन क्षेत्रमा स्थानीय पर्यटकको मात्र ६० प्रतिशत योगदान रहँदै आएको छ जसकारण पनि यो उपाय उत्तम हुन सक्ने उनले बताइन् ।

यसैले उनले कोभिड–१९ चलिरहेका बेला सबै रोजगारदाताहरुलाई आफ्ना कर्मचारीलाई काम गर्न लचिलो वातावरण सिर्जना गराइदिन आग्रह गरेकी हुन् । थोरै दिन धेरै घण्टासम्म काम गराउँदा त्यसले पक्कै पनि देशको आन्तरिक पर्यटनलाई सघाउने उनको भनाइ छ ।

कार्य क्षमता वृद्धि गर्न हप्तामा केबल चार दिन मात्र काम गर्ने शैली पछिल्लो समय धेरै ठाउँमा लोकप्रिय बन्दै गएको छ । ठुल्ठुला कम्पनी जस्तै माइक्रोसफ्टले समेत गत वर्ष जापानमा यो तरिका अपनाउँदा ठूलो बदलाव महसुस गरेको बताएको थियो । कम्पनीका अनुसार यसले माइक्रोसफ्टको उत्पादकत्वलाई ४० प्रतिशतले बढाइदिएको हो । त्यस्तै २०१८ मा न्युजिल्यान्डकै एउटा ठुलो  कम्पनीले पनि दुई महिनाका लागि चार दिन काम गर्ने यो शैली परीक्षण गरेको थियो जुन यति सफल साबित भयो कि सबैले यसलाई स्थायी रुपमा लागू गर्न भनेका हुन् । – सिएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्