अमेरिकामा देशव्यापी प्रदर्शन, मिनियापोलिस र सैन्ट पौलमा कर्फ्यु

अमेरिकामा देशव्यापी प्रदर्शन, मिनियापोलिस र सैन्ट पौलमा कर्फ्यु

काठमाडौँ, जेठ १७ गते ।

प्रहरी नियन्त्रणमा एकजना अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको हत्या प्रकरणमा अमेरिकामा देशव्यापी विरोध प्रदर्शनसँगै प्रहरीसँग झडप हुँदै अवस्था तनावपूर्ण बनेको छ । अमेरिकाको मिनेसोटा, न्युर्योक र क्यालिफोर्नियामा शुक्रबार दिनभरि विरोध प्रदर्शन भएको हो ।

ह्वाइट हाउस अगाडि सयौँको सङ्ख्यामा सर्वसाधारण जमा भएर घटनाको अनुसन्धान गरी जर्ज फ्लोयडलाई न्याय दिन माग गरेका छन् । घटनामा संलग्न मिनियापोलिस प्रहरीका एकजना अधिकारी डेरेक चौभिनलाई नियन्त्रणमा लिएर हत्याको मुद्दा चलाइएको छ । मिनियापोलिस र सैन्ट पौलमा विरोध उग्र भएपछि राति आठ बजेदेखि बिहान छ बजेसम्म कर्फ्यु लगाइएको छ ।
प्रदर्शनकारीले ह्वाइट हाउस अगाडि ‘श्वास लिन सक्दिन’ लिखित ब्यानर लिएर प्रदर्शन गरेका छन् । फ्लोयडले प्रहरी नियन्त्रणमा अन्तिम पटक बोल्नुभएको वाक्य लिखित ब्यानरसहित सर्वसाधारण प्रदर्शनमा छन् ।

यसअघि सन् २०१४ मा न्युर्योकमा प्रहरी नियन्त्रणमा रहेका अफ्रिकी मूलका अमेरिकी नागरिक एरिक गार्नरको मृत्युपछि पनि व्यापक विरोध भएको थियो ।
गोरा समुदायको डेरेक चौभिनले हथकडी लगाएर नियन्त्रणमा लिएका फ्लोयडलाई भुइँमा खसाल्दै घाँटीमा घुँडाले च्यापिरहँदा फ्लोयडको मृत्यु भएको थियो ।

अफ्रिकी मूलका ४५ वर्षीय फ्लोयडले आफूलाई श्वास लिन असहज भएको भन्दै पटक पटक प्रहरी अधिकारी चौभिनलाई मुक्त गर्न आग्रह गर्नुभएको थियो । तर प्रहरीको घुँडामुनि नै फ्लोयड बेहोस हुँदा अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको थियो । सोमबार भएको उक्त घटनाको भिडियो तात्कालै सार्वजनिक भएपछि अमेरिकामा देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।
घटनाका आरोपित ४४ वर्षीय चौभिनलाई सोमबार मिनियापोलिस अदालतमा उपस्थित गराइनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनाको निन्दा गर्दै भयावह भएको टिप्पणी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्