कोरोना संक्रमण तिब्र गतिमा फैलिरहेको ब्राजिलमा यसको क्रम झन् बढ्दै गइरहेको छ । लकडाउनमा छुट् दिएसँगै संक्रमण फैलिने क्रम झन् बढ्दो छ ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा ३७ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा अमेरिकामा २५ हजार संक्रमित थपिएका छन् ।
ब्राजिलमा हालसम्म संक्रमितको संख्या ८ लाख ६७ हजार ६२४ पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा ४३ हजार ३३२ संक्रमितको मृत्यु भइसकेको छ ।
ब्राजिल विश्वमा अमेरिका पछि कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित र मृत्यु हुने देशको सूचीमा दुई नम्बरमा छ । ब्राजिलले अघिल्लो हप्ता कोरोना संक्रमित र मृत्यु हुनेको जानकारी दिन बन्द गर्दै स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकरिक वेभसाइटबाट संक्रमित र मृतकको विवरण हटाउँदै अब यसबारे जानकारी नदिने बताको थियो ।
तर त्यहाँको सर्वोच्च अदालतले हटाएको विवरण तत्काल राख्न र दैनिक संक्रमित र मृतकको विवरण पारदर्शी बनाउन आदेश दिएपछि पुनः विवरण दिन सुरू गरेको थियो ।
विश्व स्वास्थ्य संगठनले पनि ब्राजिलले कोरोना सम्बन्धी जानकारी पारदर्शी रुपमा दिन नचाहेको भन्दै यसमा पारदर्शी हुन आग्रह गरेको थियो । उसले लकडाउनमा छुट नदिन पनि आग्रह गर्दै आएको छ ।