विराटनगरमा होस्टेलको लगानी : बालुवामा पानी

विराटनगरमा होस्टेलको लगानी : बालुवामा पानी

एन्जु शिवाकोटी
विराटनगर । सानो लगानीमा सञ्चालनमा ल्याइएका विराटनगरका होस्टेल व्यवसाय धमाधम बन्द हुन थालेका छन् । लामो समयसम्म लकडाउनको प्रभाव परेपछि थोरै पूँजीमा सुरु गरिएको होस्टेल व्यवसाय बन्दाबन्दीमा घरभाडा बुझाउनै मुस्किल भएपछि बन्द हुन थालेका हुन् ।


विराटनगरमा माध्यमिक तथा उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई आवास तथा खाना सुविधा दिने लक्ष्यसहित भाडाका घरमा होस्टेल खोलिएका थिए । ती होस्टेलमा तीन महिनादेखि विद्यार्थी छैनन् ।
कक्षा ११ र १२ को भर्ना प्रक्रिया समेत अनिश्चित हुनु र यस अगाडी समेत घरभाडा वापतको रकम घरधनीलाई बुझाउन बाँकी रहेका कारण नगर क्षेत्रका १८ होस्टेलका सञ्चालकले बन्द गरिसकेका छन् । बन्द गर्नेहरुले त्यहाँका सामान छुट्ट्ै कोठा लिएर सारेका छन् भने कतिपयले त्यहि घरको एउटा कोठाको मात्रै भाडा बुझाउने शर्तमा राखेका छन् ।

शैक्षिक संस्था नखुल्दासम्म मात्रै नभई खुलेपछि समेत सञ्चालनमा ल्याउन नसक्ने गरि कतिपय लगानीकर्ताले लकडाउनमा घाटा बेहोरेका छन् । अकास्मात झैं कोरोना संक्रमण सुरक्षाका लागि लकडाउन भएपछि बस्दै आएका विद्यार्थी घर फर्किएका थिए ।
गत चैत ११ यता घर फर्केका विद्यार्थी फर्किएका छैनन, र फर्कन सक्ने अवस्था पनि छैन रोज म्यारी होस्टल विराटनगरकी इश्वरी कार्कीले भनिन्–बिना विद्यार्थीको होस्टेलले घर मालिक मात्रै उकास्छ ।
नेपाल होस्टल एशोसिएशन मोरङका अध्यक्ष बिक्रम देवका अनुसार विराटनगरमा मात्रै ७२ वटा होस्टल सञ्चालनमा रहेका थिए । तीमध्ये कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका ५० होस्टल छन् । दर्ता प्रक्रियामा र दर्ता भएका होस्टेलहरुले घर भाडा बुझाउन सक्ने अवस्था नभएपछि बन्द गर्नु परेको हो ।

सानो लगानीमा धेरैलाई रोजगारी दिनसक्ने होस्टल बन्द हुँदा विराटनगरमा ३०० जनाको रोजगारी गुमेको दावी गरिएको छ । मासिक ६ हजार ५०० रुपैँयादेखि ९ हजार ५०० रुपैँयासम्म शुल्क लिएर खाना र बस्नसहितको सुविधा होस्टलले दिने गर्दथे ।
होस्टल सञ्चालन कार्यविधी तथा निर्देशिका र नियमावली अनुसार सम्बन्धित स्थानीय तहमा व्यवसाय दर्ता, पान दर्ता अनिवार्य लिनुपर्दछ । मापदण्ड अनुसार सुद्ध पानी, विद्यार्थीको संख्या अनुपातमा शौचालय, बाथरुम, स्वस्थ्य खाना र स्वच्छ वातावरण हुनुपर्ने पर्दछ । विराटनगरमा सञ्चालनमा रहेका होस्टेल भाडाका घरमा भएका कारण सबै मापदण्ड पूरा भने गर्न सकेका थिएनन् ।


एउटा होस्टलमा सुरक्षा गार्ड, खाना पकाउने कुक, सफाई कर्मचारी र वार्डेनसहित कम्तिमा पाँचजनाको रोजगारी जोडिएको हुन्छ । त्यसमध्ये सञ्चालक समेत त्यसैमा आश्रित बन्नुपर्ने बाध्यता रहेका कारण ऋण लगानीमा डुबेको अध्यक्ष देवले गुनासो गरेका छन् ।
घरधनीले लकडाउन अवधीको भाडा बुभाउनु पर्ने नत्र घर खाली गर्नका लागि बारम्बार दवाव दिदैं आएका छन् । तर, आफैं आश्रित व्यवसायमा परेको प्रभावले दैनिक जीविकोपार्जन गर्न कठिन व्यवसायीले घरधनीलाई भाडा बुझाउन नसक्ने भएपछि होस्टेल पूर्ण रुपमा बन्द गर्न थालेका हुन् ।

विराटनगर होस्टेलमा मात्रै साढे तीन करोडको लगानी भईसकेको थियो । सबैले मापदण्ड अनुसार सञ्चालन गर्न नसकेपनि कतिपय होस्टेल सेवा र सुविधाको हिसाबले राम्रा पनि रहेका थिए ।
तर, अनावश्यक संख्यामा होस्टेल खुल्ने गरेका कारण विराटनगरमा घरवहालमा बस्नेहरु भने मारमा पर्दै आएको गुनासो समेत सुनिने गरिएको छ । कोठा लिएर बस्नेहरुलाई घरधनीले भाडा नदिने र होस्टेल सञ्चालनका लागि दिने गरेकोले घरभाडा महंगो बनाउन होस्टेल सञ्चालकको भूमिका रहेको आरोप लाग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्