विराटनगरको थ्रीस्टार जेनियल होटल बन्द

विराटनगरको थ्रीस्टार जेनियल होटल बन्द

विराटनगर । पर्यटन वर्ष २०२० घोषणा गरिएपछि विराटनगरका पर्यटन व्यवसायीले होटलको सेवा सुविधा बृद्धि गर्न स्तरोन्नतीमा लगानी गरे । पर्यटन वर्षको औपचारिक सुरुवात सरकारले तामझाममा ग¥यो । तर, उत्साहजनक थिएन ।
होटलको स्तरोन्नतीमा लगानी गरेका पर्यटन व्यवसायीले आफ्नै पहलमा विराटनगरमा पनि राम्रा र उत्कृष्ट सेवा दिनसक्नेस्तरका होटल रहेको प्रचार गरे । होटल बुकिङ सुरु भएको थियो, त्यसैबेला कोरोना महामारीले विश्वलाई खुम्च्याउँदै आफ्नै देशमा मात्रै नभई घरभित्रै बस्न बाध्य बनाई दियो ।
त्यसैको मारले विराटनगरमा तीनतारेस्तरको होटल जेनियल पूर्ण रुपमा बन्द भएको घोषणा गर्नुप¥यो । बाईसवर्ष अगाडी भ्रमण वर्ष १९९८ लाई लक्षित गरेर सञ्चालनमा आएको होटल २२ वर्षपछिको पर्यटन वर्षमा बन्द हुनुपर्ने बाध्यता आईपरेपछि व्यवस्थापन पक्षले सार्वजानिक सुचना निकाल्नु परेको हो ।


होटल प्रा.लि.का अध्यक्ष दिनेश सिटौलाले श्रम ऐन २०७४ को दफा १४५ (१) बमोजिम असार १ गतेदेखि लागु हुने होटल बन्द गरेका छन् । होटल बन्द गर्ने कुरालाई कानुनी वैधता दिनका लागि श्रम तथा रोजगार कार्यालयलाई बोधार्थ लेख्दै ५५ जना स्थायी कामदारले पाउने सेवा सुविधा र उपदान समेत दिएर बिदा गरिएको छ ।
कोरोना संक्रमणका कारण सरकारले जारी गरेको बन्दाबन्दीले चरम आर्थिक संकट सिर्जना भएको र भविष्यमा समेत पर्यटन क्षेत्रमा समस्या आउने देखिएकोले बन्द गर्नुपर्ने निष्कर्षमा पुगिएको जेनियलका अध्यक्ष सिटौलाद्वारा जारी सार्वजानिक सुचनामा उल्लेख गरिएको छ ।
पर्यटकीयस्तरको होटल जेनिनयलमा ४८ कोठा, तीनवटा कार्यक्रम हल, दुई कन्फरेन्स हल, स्विमिङ पुल र दुईवटा रेष्टु–राँ रहेका थिए । पर्यटन वर्ष २०२० घोषणा गरिएपछि होटल बुकिङ भएको थियो तर कोरोनाका कारण त्यो सबै क्यान्सिल गर्नुपर्ने बाध्यता सँगै तत्काल होटल चल्नसक्ने संभावना नदेखिएपछि बन्द गर्नु परेको सुचनामा उल्लेख गरिएको छ ।

सरकारले बन्दाबन्दी घोषणा गरेपछि चैत, बैशाख र जेठ महिनामा ५५ स्थायी कामदारले पाउनु पर्ने पारिश्रमिक समेत होटल व्यवस्थापनले दिएको छ । मासिक १५ लाख रुपैँयाका दरले तीन महिनाको पारिश्रमिक बुझाएसँगै थेग्न नसक्ने अवस्थामा भएर पूर्ण रुपमा बन्दको घोषणा गरिएको बताइएको छ । तर, कतिपय पर्यटन क्षेत्रका व्यवसायीले दुई वर्ष अगाडीदेखि नै होटल बिक्री गर्ने कुरा गाँईगुँई चलेको बताउँछन् । पछिल्लो समय पनि होटल जेनियलमा नर्सिङ होम सञ्चालन गर्ने विषयमा छलफल भईसकेको थियो । त्यस बाहेक विराटचौकका उद्योगी भोलेश्वर दुलालले किन्ने गरी कुराकानी बढेको समेत पर्यटन व्यवसायीहरुको भनाई छ ।

पर्यटकीयस्तरको तारे होटल बन्द भएसँगै विराटनगरका अन्य होटल व्यवसायीलाई समेत थप चिन्ता बढाएको छ । पूर्व क्षेत्रीय होटल व्यवसायी संघका सचिव एवं पर्यटन व्यवसायी भवेश श्रेष्ठ धेरै होटल औपचारिक रुपमा पूर्ण बन्द गरिएको घोषणा गर्न मात्रै बाकी रहेको अवस्थामा रहेको बताएका छन् ।
होटल एशोसिएशन प्रदेश १ का अध्यक्ष राजन श्रेष्ठले पर्यटन वर्ष लक्षित लगानीले सञ्चालकहरुलाई डुबाएको बताएका छन् । उनका अनुसार पर्यटक आउँदा राम्रो सेवा सुविधा दिने भन्दै पर्यटन वर्षका लागि गरिएको लगानी नै अहिले धेरैका लागि टाउको दुखाई भएको छ । मोरङमा पर्यटकीस्तरका २५ र मझौलास्तरका ६७ होटलहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्