विमार

विमार

कविता–विमार
भुवन कुमार वाग्ले

न धामी लाउनु,
न अस्पताल धाउनु
न पिसिआर गर्नु
खै के भा छ मलाई आजकाल
रातभरि परेली जोडिदैन,
छाती ढक्क फुल्छ ।
मध्यरातमा चिच्याएर रूनमनलाग्छ ।

**
चालिसे आंखाले वरिपरि ओईलाएका अनुहार हेर्छु
खाना वेच्ने भोका मान्छेहरू
गन्तव्य हराएका गाडी मालिकहरु
तलव नपाएका क्यासियरहरुको
खरी झरेको मादलको तालमा
तान्डव देखेपछि
अचाक्ली भुंडी हुंडलेर आउंछ ।
कलेजो टनटन गर्छ ।
घांटी सुकेर ख्याप्प हुन्छ ।
खै के भा छ मलाई आजकाल
रातभरि परेली जोडिदैन,
छाती ढक्क फुल्छ ।
मध्यरातमा चिच्याएर रूनमनलाग्छ ।
**
चालिसे कान ठाडा पारेर विचलित आवाजहरु सुन्छु
अस्पताल जान डराएका सुत्केरीको पेटका
नावालक रोएको सुन्छु,
रोजगार गुमाएका जागिरेको श्रीमतीको
गहना सकसकाएको सुन्छु,
रिणको व्याज तिर्न रिण लिएका वेपारीको
ढाड चर्किएको सुनेपछि
एक्कासी दिमागमा विस्फोट हुन्छ ।
कलेजो टनटन गर्छ ।
घांटी सुकेर ख्याप्प हुन्छ ।
खै के भा छ मलाई आजकाल
रातभरि परेली जोडिदैन,
छाती ढक्क फुल्छ ।
मध्यरातमा चिच्याएर रूनमनलाग्छ ।

धन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्