विराटनगरको तरकारी बजार राजनीति  : गुद्रीमा सडक र नालाको व्यापार घरधनीको रजाँई

विराटनगरको तरकारी बजार राजनीति  : गुद्रीमा सडक र नालाको व्यापार घरधनीको रजाँई

नवराज कट्टेल

विराटनगर । विराटनगर–९ को गुद्रीबजार स्थानान्तरण गर्ने योजनासहित मोरङको कहटरी–१ मा १६ करोड ८८ लाखको लागतमा एकिकृत फलफूल तथा तरकारी थोक÷खुद्रा बजार निर्माण भयो । सुन्दर संरचना निर्माणपछि महानगर भित्रको गुद्री बजार सार्ने योजना अगाडी बढ्यो तर व्यापारीले ठाडै अस्वीकार गरिपछि त्यो योजना असफल बन्यो ।

त्यसपछि २०७५ साल चैत ३ गते प्रदेश १ सरकारलाई हस्तान्तरण गरिएको यो संरचना अहिलेसम्म पूर्ण प्रयोगमा ल्याउन नसकिएको हो ।
यता सब्जिमण्डि गुद्री व्यवस्थापन समितिले पायक पर्ने स्थान भन्दै विराटनगर–११ मा नयाँ तरकारी बजारको निर्माण गरेर विराटनगर–९ का व्यापारीलाई स्थान्तरण ग¥यो । गत चैत २३ गतेदेखि नयाँ गुद्री बजार बसपार्क पूर्वमा स्थान्तरण सुरु भएपनि पुरानो गुद्री बजार अझैसम्म खाली भएन ।

सब्जिमण्डि गुद्री व्यवस्थापन समितिका सचिव साहव अमहद गुड्डुका अनुसार नयाँ तरकारी बजारमा २४ होलसेल (गद्दी) र ६० खुद्रा स्टल बुक भईसकेका छन् । त्यस बाहेक १८ स्टल सडकसँग जोडिएका छन् । पुरानो गुद्रीमा १४ होलसेल (गद्दी) र ८० खुद्रा स्टल रहेका थिए । यसरी हेर्दा पुरानो भन्दा नयाँ गुद्री बजारमा तरकारी व्यापारी केन्द्रीकृत भएका छन् ।
तर, व्यवस्थित र एकिकृत प्रणालीको फलफूल तथा तरकारीको थोक तथा खुद्रा बजारको व्यवस्थापनमा स्थानीय सरकारको हैसियतले महानगरको भूमिका अझै शंकास्पद देखिएको भन्दै कतिपय व्यापारी आक्रोशित भएका छन् । महानगरले खाली गराउनुपर्ने गुद्री अझैसम्म खचाखच भीडले भरिने गरि कारोबारी गरिरहेको भन्दै नयाँ गुद्रीमा सर्नेहरुले आक्रोश पोखेका हुन् ।
विराटनगर–९ को पुरानो गुद्री बजार खाली गराउन महानगरले ३५ दिने सूचना गत फागुनमा जारि गरेको थियो । त्यसपछि केहि समय माग्दै गुद्री बजार व्यवस्थापन समितिले नयाँ संरचना निर्माण गरेर स्थान्तरणको प्रक्रिया सुरु ग¥यो । तर, पुरानो गुद्रीबाट सर्नेहरु सरिसकेपछि रहनेहरुका लागि महानगरले कुनैपनि प्रक्रिया नबढाएको हो । महानगर भित्रका नागरिकमध्ये कसैलाई सर्नुपर्ने डण्डा र कसैलाई बसेपनि हुने पुरस्कार दिइएको सब्जिमण्डि गुद्री व्यवस्थापन समितिका सचिव गुड्डुको गुनासो छ ।

यस्तो छ, गुद्री खाली नहुनुको रहस्य

विराटनगर–९ को गुद्री बजार क्षेत्रमा तरकारी बिक्री गर्दै आएका व्यापारीबाट मासिक १५ हजार रुपैँया वेष्ट मेजेमेन्टले रकम संकलन गर्दै आएको छ । वेष्ट मेनेजमेन्टले स्थानीय बिष्णु साहलाई गुद्री बजार क्षेत्रको रकम संलकन गर्न प्रतिनिधिको जिम्मेवारी दिइएको थियो ।
साहले गद्दी (होलसेल) को दैनिक १० र खुद्राको दैनिक ५ रुपैँया रकम फोहोर वेष्ट मेनेजमेन्टको रसिद दिएर संकलन गर्दै आएको बताएका छन् । यसरी संकलन गरिएको रकम उनले वेष्ट मेनेजमेन्टलाई बुझाउँने गर्दथे ।
तर, त्यस बाहेक गुद्री क्षेत्रका व्यक्तिगत घर अगाडीको सडक, पेटी र नालामाथि पसल थापेको रकम समेत खुद्रा व्यपारीले घरधनीलाई बुझाउनु पर्ने गरेको रहस्य बाहिर आएको छ । पाँचवटा घरको अगाडीको सडक, नाला र पेटीमा बस्ने तरकारीका खुद्रा व्यापारीले प्रतिदिन ३०० सयदेखि ६०० रुपैँयासम्म रकम बुझाउनु पर्ने बाध्यता छ । यसरी संकलन हुने रकम प्रतिघर न्यूनतम मासिक १ लाख ५० हजारदेखि १ लाख ८० हजार रुपैँयासम्म हुन आउँछ ।
गुद्री क्षेत्रमा शंकर साह, मैपाल साह, मोहन साह र रबि साहका घर छन् । ती घरका सटरदेखि महानगरको क्षेत्राधिकार भित्र पर्ने सडक र नालासम्मको भाडा घरधनीकै पोल्टामा पर्दै आएको छ । आफ्नै पसल भएपनि पेटीसहित सडकको नाला र सडकसम्म पनि तरकारी राख्नका लागि घरधनीको चित्त बुझ्दो रकम बुझाउनु पर्ने बाध्यता खुद्रा व्यापारीलाई छ ।
गरिबले सजिलै गरि खान कहिं गएपनि पाउँदैन, नालामाथि तरकारी राखेर बिक्रीका लागि बसेका एक व्यापारीले भने पैसा नदिने मात्रै भने हटाई हाल्छन् । घरधनीले हटाउने धम्की दिएपछि खुद्रा पसलेहरुले भनेजति पैसा दिएर पसल थाप्नुपर्ने हुन्छ । दैनिक पैसा घरधनीलाई बुझाउनु पर्दछ । यो महानगरको फुटपाथमा घरधनीको दादागिरी भत्ता हो ।

सब्जिमण्डि गुद्री व्यवस्थापन समितिका सचिव गुड्डुका अनुसार अहिले तीनै घरधनीको दवावले महानगरले कदम चाल्न नसकेको हो । विराटनगर–९ को गुद्रीबाट खुद्रा तरकारी पसलहरु सार्दा घरधनीहरुले उठाउँदै आएको भाडा बन्द हुनेभएपछि उनीहरुको दवाव महानगरपालिकामा परेको छ । सचिव गुड्डुले भने–महानगरले पुरानो गुद्रीका तरकारी पसल हटाउने ३५ दिने सूचना फागुनमै निकालेको थियो । त्यसपछि नयाँ गुद्री निर्माण गरेर धेरै गद्दी र खुद्रा व्यापारी सरेका छन् । तर, अहिले पनि घरधनीको अगाडीको सडक, नाला र पेटीमा तरकारी बिक्री गर्ने व्यापारी र गद्दी राख्नेहरु उठेका छैनन् । सटर नै भाडा लिएर बस्नेहरुले हट्नुपर्छ भन्ने छैन तर सडकको भाडा तिरेर पसल गर्नेहरुको व्यवस्थापन हुनुपर्ने नयाँ गुद्रीका तरकारी व्यापारीहरुको भनाई छ ।

पैसा उठाउनेको ८ महिनादेखिको तलव छैन

पुरानो गुद्री बजारबाट वेष्ट मेनेजमेन्टका लागि रकम संकलन गर्ने विष्णु साहले विगत ८ महिनादेखि तलव नै नपाएको गुनासो गरेका छन् । उनलाई कम्पनिले ९ हजार ५०० मासिक दिएर रकम संकलन गर्न राखेको हो । उनले मासिक १५ हजार रुपैँया कम्पनिलाई बझाउँदै आएका थिए ।
तर, आठ महिनादेखि पाउनु पर्ने तलव पनि नदिएको साहले गुनासो गरेका छन् । महानगरले रकम निकासा नगरेका कारण आफ्ना कर्मचारीलाई तलव दिन नसकेको बताउँदै आएको वेष्ट मेनेजमेन्टले अन्य सफाई कर्मचारीको समेत तलव नदिएपछि बुधबार देखि शुक्रबारसम्म आन्दोलनमा उत्रिएका थिए । तर, आईतबार तलव निकासा गर्ने बताएपछि शनिबारदेखि सफाई कर्मचारी काममा फर्किएका छन् ।
वेष्ट मेनेजमेन्टका प्रमुख देवी आचार्यले चैत महिनापछि पुरानो गुद्रीबाट फोहोरको शुल्क संकलन गर्न छोडिएको छ । साहलाई त्यस अगाडी दिनुपर्ने तलव वापतको रकम केहिदिन भित्रै निकासा गरिने आचायले बताएका छन् । सफाई कर्मचारीको हकमा महानगरले महिनाको ७ गतेसम्ममा निकासा गरिसक्नुपर्ने रकममा केहि ढिला भएका कारण मात्रै भुक्तानी असन्तुलन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्