प्रदेश सरकारद्वारा पदक विजेता खेलाडीलाई सम्मान

प्रदेश सरकारद्वारा पदक विजेता खेलाडीलाई सम्मान

विराटनगर । प्रदेश १ सरकारले तेह्रौं एशियाली खेलकुदमा प्रदेश नम्बर १ बाट सहभागी भई पदक विजेता ८८ जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

विभिन्न खेल विधामा सहभागी भई एकल तथा टिम तथा डबलतर्फ स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरुलाई बुधबार विराटनगरमा सम्मान गरिएको हो । सम्मानित ८८ जना मात्रै खेलाडी भएपनि दशजना खेलाडी दोहोरो पदक विजेता भएका कारण सम्मान रकम भने ९८ जनाको लागि प्रदान गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले कदरपत्र, सामाजिक विकास मन्त्री जीवन घिमिरेले दोसल्ला र राज्यमन्त्री जयमाया गजमेरले अबिर लगाएर खेलाडीलाई सम्मान गर्नु भएको थियो ।
खेलाडीहरुमध्ये एकलतर्फ स्वर्ण विजेता ६ जना नगद ३ लाख, रजत पदक विजेतालाई दुईलाख र कास्य पदक विजेतालाई एक लाख नगद प्रदान गरिएको छ । एकल स्वर्णका ६ जना, रजतका ४ जना र कास्यका १० जना गरि २० जना खेलाडीले सम्मान पाएका हुन् ।
टिम तथा डबलतर्फ स्वर्ण विजेता १५ जना, रजत पदक विजेता २२ जना कास्य पदक विजेता ४१ जना खेलाडीलाई समेत सम्मान गरिएको थियो ।


टिमतर्फका स्वर्ण विजेतालाई एकलतर्फका स्वर्ण विजेताले प्राप्त गरेको तीन लाख नगदलाई आधार बनाएर खेलाडी संख्याका आधारमा बढीमा एकलाखदेखि ७५ हजार ५०० रुपिँया प्रदान गरिएको छ । यसैगरी एकलका रजत पदक विजेताले प्राप्त गरेको २ लाखलाई आधार बनाएर टिमतर्फका रजत पदक विजेतालाई बढीमा एकलाख र कम्तिमा ६० हजार नगद प्रदान गरिएको छ ।

यसैगरी एकलतर्फका कास्य विजेताले प्राप्त गर्ने एकलाख नगदलाई आधार मानि टिमतर्फका विजेतालाई बढीमा ५० हजार र कम्तिमा ४१ हजार नगद प्रदान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन् ।
त्यस अवसरमा राष्ट्रिय फुटबल टिमका खेलाडी सुजन श्रेष्ठले खेलाडीहरुले राष्ट्रका लागि खेल खेलेकोले सरकारले गर्ने सम्मानले हौसला प्रदान गर्ने बताएका थिए ।


मुख्यमन्त्री राईले खेलाडीको खेल जीवनलाई व्यवसायीक कर्मको रुपमा बुझ्नुपर्ने मान्यता स्थापित गर्नका लागि राष्ट्रका लागि योगदान गर्ने खेलाडीहरुको सम्मान गरिएको बताए । उनले सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउँदै लगेको बताउँदै आगामी दिन यो क्षेत्रको भविष्य सुखमय रहेको बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएर पदक विजेता बन्नु खेलाडीको लागि मात्रै नभई राष्ट्रका लागि गौरव भएकोले खेलाडी सम्मानको कार्यक्रम आयोजना गरिएको बताए ।


प्रदेश सरकारले तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सम्पन्न भए लगतै प्रदेश १ बाट सहभागी भई पदक विजेता खेलाडीका लागि प्रोत्साहन नगदसहित सम्मान गने निर्णय गरेको थियो । कोरोना संक्रमणका कारण कार्यक्रम आयोजना गर्न ढिलाई भएपनि आर्थिक वर्ष समापनको अन्तिम दिन खेलाडीलाई सम्मान गरेको हो । खेलाडी सम्मानका लागि प्रदेश सरकारले ८० लाख रुपिँया बिनियोजन गर्ने निर्णय यस अगाडी गरेको थियो । खेलाडीहरुलाई प्रदान गर्ने नगद रकम यस अगाडी नै उनीहरुको बैंक खातामा रकामान्तर गरिसकिएको सामाजिक विकास मन्त्री घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्