विराटनगरमा यो पटकको लकडाउन कडा, गुद्री बजार समेत बन्द

विराटनगरमा यो पटकको लकडाउन कडा, गुद्री बजार समेत बन्द

विराटनगर । विराटनगर महानगरले आज राती १२ बजेदेखि लागु गरेको लकडाउन यस अगाडी भन्दा कडा रुपमा कार्यन्यन गरिने भएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्षसहित महानगरले यस पटक विराटनगरको अति भीड हुने पुरानो र नयाँ गुद्री बजार समेत बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक भीड लाग्ने गुद्री बजार यस पटक पूर्ण रुपमा बन्द गरिने भएको हो ।

यस अगाडी विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण देखिएको थियो, महानगरका मेयर भीम पराजुलीले शुक्रबार लकडाउन कार्यन्वयन बारे जानकारी दिदैं भन्नुभयो–अहिले समुदायस्तरमा संक्रमण फैलिएको छ । उहाँले यस अगाडी सरकारले घोषणा गरेको लकडाउन भएपनि यस पटक महानगरवासीको माग अनुसार घोषणा गर्ने निर्णयमा पुगिएकोले कार्यन्वयन पनि स्वतः हुने दावी गर्नुभयो ।

समुदायस्तरमा फैलिदैं गएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण ‘चेनब्रेक’ गर्न भन्दै विराटनगर महानगरपालिकाले १४ दिनसम्म लकडाउनको घोषणा शुक्रबार गरेको हो । महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन १६ गते राती १२ बजेपछि साउन ३० गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय सार्वजानिक गर्दै मेयर पराजुलीले खाद्यन्न, तरकारी तथा फलफूलका पसलहरु (पुरानो र नयाँ गुद्री बाहेक) औषधी पसल, दूध, पानी, ग्यास÷इन्धन, अक्सिजन, बारुण यन्त्र सेवा, एम्बुलेन्स सेवा, अस्पताल तथा नर्सिङ होम (बहिरंग सेवा बाहेक) आईसीपीबाट आउनेजाने मालवहाक सवारी साधन, सफाईकर्मी, स्वास्थ्यकर्मी र सञ्चार लगायत अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द हुने जानकारी दिनुभयो ।

महानगरपालिकामा ११० जना नागरिकमा संक्रमण पुष्टि भएको छ । यीमध्ये ६१ जनाको ट्राभल हिस्ट्री नभेटिएकोले समुदायस्तरमा संक्रमण पुगेको दावी गरिएको छ ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले पछिल्लो १५ दिनयताका संक्रमित लक्षणसहितका भेटिएपनि उनीहरुमा संक्रमण सरेको स्रोत पहिचान हुन नसकेको जानकारी दिनुभयो ।

महानगरपालिकामा लकडाउन गर्नका लागि राजनीतिक दलका नेताहरुले समेत तत्काल निर्णय लिनुपर्ने माग गर्दै आएका थिए । शुक्रबार बसेको बैठकमा नेकपाका नगर अध्यक्ष सागर थापाले नगरवासीको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै महानगर नेतृत्वलाई राजनीतिक रुपमा पूर्ण सहयोग रहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

यस अगाडी बिहीबार जिल्लास्थित कोभिड–१९ क्राईसिस मेनेजेमेन्टको र शुक्रबार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले स्थानीय तहको आवश्यकताका आधारमा पहल लिनसक्ने बाटो खोलेको थियो ।
मेयर पराजुलीका अनुसार यसबीचमा मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग समेत परामर्श लिएर लकडाउन घोषणा गर्ने निष्कर्षमा पुगिएको हो । सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले केहि प्रोटोकल समेत तयार गरेको छ । जसमा महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङको कामलाई बढाउने, सामाजिक विकास मन्त्रालयले तत्काल आईसोलेशन र पीसीआर क्षमतालाई बढाउने निष्कर्ष निकालिएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले महानगरले गरेको लकडाउनलाई प्रशासनिक तवरले कार्यन्वयनमा कडाई गरिने छ । संघीय इकाईका कार्यालयहरु बन्द नरहने र कर्मचारीले समेत महानगरले तोकेको मापदण्ड अपनाएर हिँडडुल गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघीय सरकार मातहतका कार्यालयहरुले प्रवाह गर्ने सेवाका लागि आउने सेवाग्राहीले महानगरले तोकेको सुरक्षा मापदण्ड अपनाएर स्वीकृतिसहित आउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्