करैयाबस्तीमा प्रहरीसँगको झडप : स्थानीय भन्छन सुत्ने बेलामा ज्यादती

करैयाबस्तीमा प्रहरीसँगको झडप : स्थानीय भन्छन सुत्ने बेलामा ज्यादती

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–१ करैया बस्तीका ऋषिदेव समुदायको घरमा लागुऔषध राखिएको सूचना पाएर नियन्त्रणका लागि गएको मोरङ प्रहरीको टोलिमाथि स्थानीयले आक्रमण गरेका छन् ।

राती ९ बजे एक्कासी सादा पोशाकमा पुगेका तीन जनाको प्रहरी टोलिले स्थानीय बलराम ऋषिदेवले घरमा सञ्चालन गरेको पसलमा छापा मार्न खोजेको थियो । त्यहि क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा तीनजना प्रहरी घाइते भएका हुन् ।

लागुऔषधको कारोबार बलराम ऋषिदेवको घरमा रहेको पसलबाट हुने गरेको प्रहरीलाई सुचना प्राप्त भएको थियो । नियन्त्रणका लागि गएको प्रहरीमाथि नै स्थानीयले आक्रमण गरेपछि लागुऔषध भने बरामद गर्न प्रहरी असफल भएको थियो ।

स्थानीयको आक्रमणमा परी घाइते हुनेहरुमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी छन् । मोरङ प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष खड्काको लागुऔषध कारोबार हुने सुचनाका आधारमा गएको प्रहरीमाथि कारोबारीको उक्साहटमा स्थानीय आक्रमणमा उत्रिएको दावी छ ।

त्यस क्रममा स्थानीय देवनारयण ऋषिदेव पनि घाइते भएका छन् । घाइते भएका देवनारयणको टाउकामा चोट लागेको छ । स्थानीयले प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा ऋषिदेव बस्ती पुगेको प्रहरीको टोलिले अन्धाधुन्ध आक्रमण गरेको बताएका छन् ।

प्रहरीले बलराम ऋषिदेवले अवैध रूपमा लागुऔषधको कारोबार गर्ने गर्दै आएको सुचना राखेको थियो । हामी त्यतिकै जाने कुरा भएन, जानुपर्ने ठाउँ पनि हैन, एसपी खड्काले भन्नुभयो–आपराधिक मानसिकता भएकाहरुले प्रहरीमाथि आक्रमण गरेर विभिन्न आरोप लगाउने प्रयास सुरु गरेका छन् ।

लागुऔषध कोरेक्स र गाँजा स्टोर गरेर बिक्रीका लागि तयारी अवस्थामा राखिएको सुचना पाएर नियन्त्रणमा लिन गएको टोलीमाथि लागूऔषध कारोबारीले स्थानीयलाई उकासेको एसपी खड्काको दावी छ । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिनका लागि दुई राउण्ड हवाई फायर गर्नु परेको एसपी खड्काले जानकारी दिनुभयो ।

घटनापछि थप प्रहरी परिचालन गरेर प्रहरीले लागुऔषधको कारोबारी दावी गरिएका बलरामसहित घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बलराम ऋषिदेव, देव ऋषिदेव, वीरेन्द्र ऋषिदेव, महादेव ऋषिदेव छन् । पक्राउ परेका नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेवलाई प्रहरीले शुक्रबार दिउँसो छोडिदिएको छ ।

पाँच जनालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरि अनुसन्धान अगाडी बढाएको छ । पक्राउ परेकाबाट लागुऔषध बरामद नभएपछि प्रहरीले उनीहरुलाई दुव्र्यवहार मुद्दामा अनुसन्धान बढाएको हो । एसपी खड्काले हुलदंगा गरेर केहि कारोबारी भगाएको आशंका गर्नु भएको छ ।

तर, यता स्थानीयवासीले भने प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् । ऋषिदेव वस्तीमा सुत्ने बेलामा प्रहरी पुगेर ज्यादती गरेको आरोप लगाएका हुन् । स्थानीय विष्णु ऋषिदेवले रातीको समयमा प्रहरी आएर ज्यादती गरेको आरोप लगाउनुभयो ।  प्रहरी आएर गालीगलौज गर्ने, हेल्मेटले कुट्ने र ज्यान मार्ने धम्की दिएको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्