विराटनगर । सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड आईसोलेशन अस्पताल गोठगाउँबाट शनिबार बिहान २५ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेशमणी पोखरेलका अनुसार डिस्चार्ज हुनेहरु सबैजना पुरुष हुन् ।
लक्षणबिहीन संक्रमित राखिदै आएको पीयू कोभिड आइसोलेशनमा भर्ना गरिएकाहरुको पछिल्लो पीसीआर परीक्षण नेगेटिभ देखिएपछि घर पठाइएको हो । डिस्चार्ज हुनेहरुमा धनकुटाका ३ जना, इलामका १ जना, ओखलढुंगाका ५ जना, झापाका दुईजना सशस्त्र प्रहरीसहित ७ जना, सुनसरी ३ जना, मोरङ ५ जना, सोलुखुम्बु १ जना रहेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको आईसोलेशनमा हालसम्म ४३५ जना संक्रमित भर्ना भईसकेका छन् । जसमध्ये ३४१ ज्ना डिस्चार्ज भएका छन् । यो आईसोलेशनमा लक्षणबिहीन पुरुष संक्रमित मात्रै राखिदैं आएको छ । यहाँ भर्ना भएकामध्ये ८ जनामा संक्रमण देखिएपछि कोशी र वीपीमा रेफर गरिएको डिन पोखरेलले जानकारी दिनुभयो ।
यो आईसोलेशनमा १४ वर्षदेखि ४५ वर्षसम्मका ८६ जना उपचारतः रहेका छन् । यीमध्ये ५० जना सशस्त्र प्रहरी र नेपाल प्रहरी हुन् ।