खोर र सडकबाट दशजनाको उद्धार

खोर र सडकबाट दशजनाको उद्धार

विराटनगर । प्रदेश १ सरकारले शनिबार उदयपुरको कटारीबाट १० जनाको उद्धार गरेको छ । कटारी नगरपालिकाका विभिन्न वडाहरुबाट मानसिक स्वास्थ्य समस्या भएपछि सडक आश्रित तथा खोरमा थुनेर राखिएकाहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएकामा सडक आश्रित गर्भवति बालिका सहित ४ महिला र ६ पुरुष छन् । उनीहरुलाई सडक र घर–घरमा गएर सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सदस्य कला घले, कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, सामाजिक अभियान्ता मञ्जिता उपाध्याय, मानव सेवा आश्रमका प्रतिनिधि सहितको टोलीले उद्धार गरेको हो ।

कटारी १ कालिखोलाका ५७ वर्षीय तर्कबहादुर अधिकारी (खत्री) लाई उद्धार गर्न उहाँको घर पुग्दा उनलाई घर परिवारले घरदेखि २ सय मिटर पर बाँसघारीमा बनाईएको खोरमा थुनेर राखेको अवस्थामा फेला पारिएएको थियो । उद्धार टोली पुग्दा नग्न अवस्थामा भेटिनु भएका उहाँ १० वर्षदेखि खोरमा बस्दै आएको स्थानीय पवित्रा थापाले बताउनुभयो ।

कटारीमा करिव ३२ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु रहेको नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख भीमकुमारी राउतले स्वास्थ्य समस्या भई सडक आश्रित व्यक्तिका परीवारलाई नगरपालिकामा भेला गरि समस्या समाधानको पहल शुरु गरेको बताउनुभयो ।
प्रदेश सरकारको अभियान अन्र्तगत उद्धार शुरु गरेको उहाँले बताउनुभयो । शनिबार उद्धार गरिएकाहरु ५ सन्तानका आमा, सडकमा रहँदै गर्भवती भएकी बालिका, १० वर्षदेखि खोरमा राखिएका, साङ्लोले बाँधिएका, पढ्दा पढ्दै स्कुल छोडेका यूवाहरु रहेका छन् ।

प्रदेश १ सरकारले सडक आश्रित र सहयोगापेक्षीहरु सबैको उद्धार गर्ने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । कटारीका सडक र घर–घरमा पुगेर उद्धार गर्दै मन्त्री घिमिरेले प्रदेश १ का सबै स्थानीयतहबाट मानसिक स्वास्थ्य समस्या भएका, सडकमा जीवन विताईरहेकाहरुको उद्धार गरिने बताउनुभयो ।

प्रदेश १ का सडकमा आश्रित र सहयोगापेक्षीको उद्धार गरि सडक मानवमुक्त बनाईने मन्त्री घिमिरेको दावी छ । उद्धार गरिएका व्यक्तिहरुलाई मानव सेवा आश्रम विराटनगरमा राख्ने गरिएको छ । सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँगको सहकार्यमा मानव सेवा आश्रमले सडकआश्रित र सहयोगापेक्षीहरुको उद्धार गर्दै आएको छ ।

उद्धार गरिएकाहरुलाई पारिवारिक वातावरणमा राख्ने गरिएको मानव सेवा आश्रम प्रदेश १ का संयोजक नवराज केसीले बताउनुभयो । मानव सेवा आश्रमले अहिलेसम्म प्रदेश १ मा १०८ जनाको उद्धार गरिसकेको छ । उद्धार गरिएका मध्ये अहिले ६५ जना आश्रममा छन् । अन्यलाई उपचारपछि परिवारको जिम्मा लगाईएको छ । प्रदेश १ मा सडक आश्रितहरुलाई आगामी एक वर्ष भित्रमा उद्धार गरि सकिने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्