वीपीमा संक्रमित राख्ने तीन तहका उपचार कक्ष

वीपीमा संक्रमित राख्ने तीन तहका उपचार कक्ष

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हालसम्म भर्ना गरिएका ९ जना कोरोना संक्रमितको आईसीयूमा राखेर उपचार गरिएको छ । संक्रमितको स्वास्थ्य अवस्था हेरेर बर्गिकरण गरिने भएका कारण तीन तहका उपचार कक्षमा विरामीको उपचार हुँदै आएको हो ।

संक्रमितको उपचार पद्धतिमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने विरामीको अवस्था जटिल मानिन्छ । वीपी प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार यो वर्गमा पर्ने विरामीलाई डाइलासिस समेत चाहिनसक्छ ।
प्रवक्ता सापकोटाका अनुसार सबै सुविधासहित लेवल–३ को उपचार सेवा दिनुपर्ने विरामीका लागि २४ घण्टा चिकित्सक र नर्सहरु तैनाथ हुनुपर्दछ । अस्पतालमा आइतबारसम्म भर्ना भएका ३३० जना संक्रमितमध्ये ९ जनाको अवस्था जटिल देखिएको हो । प्रतिष्ठानमा लेवल–१, लेवल–२ र लेवल–३ मा ६९ जना संक्रमितहरु उपचारतः रहेका छन् ।

सरकारले संक्रमित उपचारका लागि जारि गरेको निर्देशिका अनुसार तेस्रो तहको सेवा प्रवाह गर्ने अस्पतालहरुले संक्रमितहरुको बर्गिकरण गर्दछन् । प्रवक्ता सापकोटाका अनुसार संक्रमित पुष्टि भएका तर लक्षण नभएका, लक्षण भएका तर आईसीयूमा राख्नुपर्ने अवस्था नभएका र आईसीयूमा राख्नुपर्ने अवस्था भएका विरामीलाई फरक–फरक बर्गिकरण र उपचार प्रणाली अपनाईने गरिएको हो ।

प्रवक्ता सापकोटाले संक्रमित पुष्टि भएपनि लक्षण नदेखिएका विरामीलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहनु नपर्ने बताउनुभयो । उहाँले यस्ता व्यक्तिले समाजमा संक्रमण फैलाउन सक्ने भएकोले एकान्तगृह (आईसोलेटेड) मात्रै गर्नुपर्ने हो ।
प्रतिष्ठानमा यस्ता विरामीलाई सीसी क्यामेराको निगरानीमा एक स्थानमा राखिदैं आएको छ । यो विशेष स्टेशन हो, प्रवक्ता सापकोटाले भन्नुभयो–यहाँ राखिएका संक्रमितमध्ये कसैलाई लक्षण देखिएमा लेवल–२ को उपचार कक्षमा सारिन्छ । उहाँका अनुसा हालसम्म आईसोलेशन गरिएका २८२ जना संक्रमित डिस्चार्ज भईसकेका छन् ।

उनीहरु त्यतिकै संक्रमणमुक्त हुने भएकोले आत्तिरहनु पर्ने अवस्था नहुने तर बारम्बार अवस्थाको बारेमा जानकारी राख्नुपर्ने हुन्छ । आईसोलेशनमा राखिएको अवस्थामा लक्षण देखिए वा सुरुमै संक्रमण पुष्टि हुँदा लक्षण देखिएका संक्रमितलाई लेवल–२ को कक्षामा राखिने गरिएको छ । यस्ता संक्रमितहरुलाई चिकित्सकले नियमित राउण्ड गर्ने, नर्सिङ्ग स्टेशनबाट बारम्बार निगरानी भईरहने गरेको छ । प्रवक्ता सापकोटाका अनुसार यदि कुनै जटिल अवस्था आएमा तत्काल चिकित्सकको उपस्थितिमा लेवल–३ मा सारिने गरिएको छ । हाल लेवल–२ कक्षमा राखेर उपचार गर्ने संक्रमितको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्