जोगबनी नाकाबाट नेपाल–भारतका नागरिक आउजाउ कायमै

जोगबनी नाकाबाट नेपाल–भारतका नागरिक आउजाउ कायमै

विराटनगर । विराटनगर रानीस्थित जोगवनी नाकाबाट नेपाल र भारत आउजाउ रोकिएको छैन । नेपाल प्रवेश गर्ने र भारत जानेको संख्यामा कमी आउँदै गएपनि दुवै देशका नागरिकको आउजाउ भने रोकिएको छैन ।
भारतबाट नेपाल आउने भन्दा नेपालबाट भारत जानेको संख्या बढि छ । नेपालबाट भारत जाने कानुनी बाटो प्रयोग गरेर गईरहेका छन् तर भारतबाट नेपाल प्रवेश गर्नेहरुले तोकिएका नाका बाहेकको बाटो समेत प्रयोग गर्दै आएका छन् ।

लकडाउन कारण व्यापार व्यवसाय बन्द भएपछि नेपालले भारतमा र भारतले नेपालमा अलपत्र परेका आफ्ना नागरिकलाई जेठ दोस्रो साताबाट नागरिकता र रासनकार्डका आधारमा आफ्नो मुलुक फर्काउन थालेका थिए । लकडाउनका कारण त्यसअघि दुवै देशका नागरिकले आ–आफ्नो मुलुक फर्कन पाएका थिएनन् । भारतमा अलपत्र परेकाहरूलाई जेठ १३ गतेबाट जोगवनी नाका हुँदै फर्काउन थालिएको थियो । जेठ १४ बाट नेपालमा रहेका भारतीयहरु आफ्नो मुलुक फर्कन थालेका थिए ।

साउन २० गते सम्म जोगवनी नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या ३ हजार ६ सय ९ छ । नेपाल प्रवेश गरेका मध्ये २ हजार ८ सय ३८ पुरुष र ७ सय ७४ महिला रहेको मोरंग प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । प्रहरीको तथ्यांक अनुसार पछिल्लो समय भारतबाट आउने नेपालीको संख्या कम छ ।

 

जोगवनीको आईसीपी क्याम्प हुँदै विराटनगरबाट ५ हजार ८ सय ३० भारतीय नागरिक गएका छन् । भारत जानेमा ४ हजार ४ सय ३४ पुरुष र १ हजार ४ सय १ महिला छन् । भारत जानेहरुको संख्या पनि घट्दै गएको मोरंग प्रहरीले बताएको छ ।

लुकिछिपी नेपाल आउने र भारत जानेको संख्या भने यकिन छैन । जोगवनी नाकाबाट नेपाल प्रवेश गर्नेहरु प्रदेश १ का झापा, मोरंग र सुनसरीका बढी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्