लकडाउन घोषणा गर्दै स्थानीय तह, कार्यन्वयन भने फितलो

लकडाउन घोषणा गर्दै स्थानीय तह, कार्यन्वयन भने फितलो

विराटनगर । कोरोनाको संक्रमणको जोखिम बढ्न थालेपछि मोरङ, सुनसरी र झापाका स्थानीयतहले धमाधम लकडाउन घोषणा गर्न थालेका छन् ।  जोखिम मानिएका र भारतसँग सीमा जोडिएका स्थानीय तहले लकडाउन घोषणा गरेर संक्रमण न्यूनीकरणको बाटो रोजेका हुन् ।

विराटनगर महानगरपालिकाले दुई साताको लागि लकडाउनको घोषणा गरेसँगै झापा, सुनसरी र मोरङका अन्य स्थानीयतहले पनि कोरोनाको संक्रमण नियन्त्रण गर्न लकडाउनको संक्रमण नियन्त्रण गर्न लकडाउनको घोषणा गर्न थालेका हुन् । मोरङको रतुवामाई, सुन्दरहरैचा, रंगेली, सुनसरीको दुहवी, इटहरी, इनरुवा झापाको बिर्तामोड लगायतका स्थानीयतहले लकडाउन गर्ने निर्णय गरेका हुन् ।

मोरङको रंगेलीमा तीनवटा वडाको केहि आंशिक क्षेत्र पूर्ण सिल गरिएको छ । सिल गरिएका क्षेत्रबाट कसैलाई पनि बाहिर निस्कन दिइएको छैन । एकै परिवारका १४ जनासहित २२ जनामा एकै दिन कोभिड १९ को संक्रमण देखिएपछि रंगेली नगरपालिका क्षेत्रमा मंगलबारदेखि बजार बन्द गर्ने निर्णय गरिएको हो । नगरपालिकाले सुचना जारी गरी वडा ७ साथै ४, ६ र ८ मा मानिसको आउजाउमा कडाइ गरेको छ ।

विराटनगर पछि रंगेली , सुनवर्षी र रतुवामाईमा कोरोना संक्रमितको संख्या अधिक देखिएको छ । सुनवर्षी नगरपालिकाले पनि समुदायस्तरमा कोरोना फैलन नदिन परीक्षण बढाउने तयारी थालेको मेयर कालीप्रसाद दासले जानकारी दिए । रतुवामाई नगरपालिकाले नगर क्षेत्र शिल गर्ने निर्णय गरेको छ । मंगलबार रातिदेखि नगरपालिकाका १० वटा वडा १० खिनको लागि सिल गरिएको बताइएको छ ।

कोभिड १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समिति इटहरी उपमहानगर स्तरीय आकस्मिक बैठकले इटहरी उपमहानगरपालिकामा मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पाँच दिने लकडाउन गर्ने निर्णय गरेको छ । इनरुवामा पनि २६ गते सम्मलाई लकडाउन घोषणा गरिएको छ ।

त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिकाले पुनः ९ दिनको लागि लकडाउन गर्ने निर्णय गरेको छ । २२ गते बिहिबारदेखि लागू हुने गरी होटल, ब्युटिपार्लर, सैलुन, फुटसल, जिमखाना, हटिया बजार, सार्वजनिक यातायात बन्द हुने भएका हुन् । त्यसैगरी नगरपालिका कार्यालय र वडा कार्यालयबाट हुने सेवाहरु बन्द गर्ने निर्णय गरिएको बताइएको छ । झापाको बिर्तामोडले पनि लकडाउन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्