विराटनगरमा १३ जनामा संक्रमण पुष्टि

विराटनगरमा १३ जनामा संक्रमण पुष्टि

विराटनगर । विराटनगरमा बिहीबार ५ जना महिलासहित १३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा महानगरमा थप १३ जना संक्रमित थपिएका हुन् ।

प्रयोगशालाले हिजो राती उनीहरुको रिपोर्ट महानगरमा पठाएको थियो । विराटनगर महानगरपालिका–११ मा २ महिला २ पुरुष, १३ मा १ पुरुष, ८ मा २ पुरुष, ७ मा २ जना, २ नम्बर वडामा १ जना, १० नम्बरमा १ जना, ६ नम्बरमा १ र ठेगाना विराटनगर उल्लेख गरिएको एकजना महिलामा संक्रमण पुष्टि भएको महानगरपालिका कोभिड शाखाका यादव गौतमले जानकारी दिनुभयो ।

संक्रमितहरुको ठेगाना र नामका आधारमा महानगरले पहिचान र खोजि गर्ने काम सुरु गरेको छ । संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका हुन् ।

नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १८३ पुगेको छ । महानगरपालिकाभित्र वडा नम्बर ५ र वडा नम्बर ९ का दुई संक्रमितको मृत्यु भएको छ ।

प्रदेश २ बाट उपचारका लागि ल्याइएका दुई जनासहित प्रदेश १ मा मृत्यु भएको संख्या छ पुगेको छ । प्रदेश २ का दुई जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । त्यस बाहेक रंगेलीका एक पुरुष र सुनवर्षी नगरपालिकाका एक पुरुषको मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्