कोशीमा झाडापखाला, बान्ता, हैजा र जण्डिसका विरामी बढ्दै

कोशीमा झाडापखाला, बान्ता, हैजा र जण्डिसका विरामी बढ्दै

एन्जु शिवाकोटी
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) महामारीसँगै झाडापखाला, बान्ता, हैजा, जण्डिस जस्ता समस्याका विरामी दिनप्रतिदिन बढ्दै गएका छन् । पछिल्लो साता बढेको गर्मीका कारण झाडापखला, बान्ता, जण्डिस जस्ता समस्याका विरामी बढ्न थालेका हुन् ।

कोशी अस्पताल विराटनगर आकस्मिक कक्षमा मात्रै दैनिक १५ देखि २० जना यस्तो समस्या भएका विरामी आउने गरेका छन् । कोशी अस्पताल आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. संज्ञा ज्ञवालीका अनुसार धेरै विरामी विराटनगर महानगर क्षेत्रका सिमान्तकृत र विपन्न समुदायका रहेका छन् ।

वर्षात्का कारण पीउने पानी र खाना दुषित हुनाकासाथै सरसफाईमा ध्यान नदिदाँ यस्तो समस्या आउनसक्ने चिकित्सकहरुको दावी छ । सरसफाईका साथै उमालेको पानी मात्र पीउने गरे अहिले देखिरहेको समस्या आफैं हल हुने किसिमको रहेको डा.ज्ञवालीले बताउनुभयो ।

मिश्रित समुदाय बसोबास भएको विराटनगर महानगरमा अति न्यून विकास र चेतना भएको समुदाय रहेका कारण खुल्ला स्थानमा शौच गर्नेदेखि सरसफाईमा ध्यान नपुग्ने गरेका छन् । स्थानीय सरकारले त्यसको व्यवस्थापन मिलाउन नसकेका कारण यस्ता समस्या भने वर्षेनी देखिने गरेका छन् ।

विराटनगर महानगरपालिका उपमेयर इन्दिरा कार्कीले स्रोत र साधनको उचित प्रयोग गरेर विस्तारै यस्ता वस्तीहरुको व्यवस्थापन गरिने दावी गर्नुभयो । उहाँले महानगरका कतिपय क्षेत्रमा अनुगमनका लागि पुग्दा सधैं नागरिकलाई स्वास्थ्य र सरसफाई सचेतनाको विषयमा जानकारी गराउने गरेको बताउनुभयो ।

सरसफाई र खानपानमा ध्यान दिने हो भने  ८५ प्रतिशत विरामीको संख्या कम हुने जेनेरल फिजिसियन डा.अरुण ढकालले बताउनुभयो । उहाँले गर्मीको समयमा सरसफाइ र खानामा बढी ध्यान दिनुपर्ने बताउनुभयो । पानी उमालेर पीउने, झोलिलो खानेकुरा बढी खाने, बासि खाना नखानाले यस्ता समस्या नआउने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्