विराटनगरले सुविधा दिदाँ रंगेलीमा जोखिम

विराटनगरले सुविधा दिदाँ रंगेलीमा जोखिम

रबिन्द्र बराल
रंगेली । भारतको दिल्लीबाट नेपाल प्रवेश गरेकी रङ्गेली निवासी महिलालाई विराटनगर महानगरपालिका १० नम्बर वडाले होटल क्वारेन्टीनको सुविधा दिएपछि रंगेलीमा संक्रमण फैलिएको खुलेको छ ।
विराटनगरवासी बनाएर नेपाल आएकी महिलाले होटल क्वारेन्टीनमा बस्दा सावधानी नअपनाएका कारण एउटै परिवार संक्रमित बनेको भन्दै रंगेली नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग छानविनका लागि अनुरोध समेत गरेको हो ।

भारतको दिल्लीबाट असार २४ गते नेपाल आएकी उनलाई होटल क्वारेन्टाइनमा बस्न दिन वडाले सिफारिस गरेको थियो । वडा कार्यालयले होटल क्वारेन्टाइनमा बस्न सिफारिस गरेपनि सम्बन्धित महिला क्वारेन्टाइन नै नबसी सोझै बिरामी बुबालाई भेटन न्युरो अस्पताल गएको र एकसाता भित्रै रङेली आफ्नो घर पुगेको खुलेको छ ।

उनको बुबाको निधन भएपछि सम्पूर्ण आफन्तहरु मलामीमा सहभागी भएका थिए । काजकिरिया सकाएर घर फर्कने बेलामा महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा घरका सबै परिवारको कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनीसँगै परिवारलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि आफन्त लगायत कन्ट्याक्ट ट्रेसिङमा आएका दुईसय संख्या हाराहारीको स्वाब संकलन गरिएको छ । परीक्षण रिपोर्टको प्रतिक्षामा रहेका उनीहरुसँगै रंगेलीवासी भने आतंकित बनेका छन् ।

रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले उनी भारतबाट आएको सम्बन्धित स्थानीय तहलाई जानकारी नगराई अर्को स्थानीय तहले सिफारिस दिदाँ समस्या भएको दावी गर्नुभयो । पछिल्लो समय उनको विषयमा र यात्रा विवरण खुलेपछि त्यसको छानविनका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुरोध गरिएको मेयर बगडियाले दावी गर्नुभयो । रंगेलीमा एउटै घरका १४ जनामा संक्रमण देखिएपछि समुदायस्तरमा फैलिएको आशंका गर्दै अहिले लकडाउन घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्