झापाका विभिन्न स्थानीय तहमा साप्ताहिक हाटबजार बन्द

झापाका विभिन्न स्थानीय तहमा साप्ताहिक हाटबजार बन्द

समुदायस्तरमा कोरोना फैलिएसँगै झापाका स्थानीय तहहरुले साप्ताहिकरूपमा लाग्ने हाटबजार धमाधम बन्द गराउन थालेका छन् । पन्ध्र स्थानीय तहमध्ये कनकाई, विर्तामोड, अर्जुनधारा र शिवसतासी नगरपालिकाले आफ्ना क्षेत्रमा लाग्ने विभिन्न शहरका सप्ताहिक हाटबजार बन्द गराएका हुन् । कनकाई नगरपालिकाले आज विज्ञप्ति जारी गरेर भदौ ५ गतेसम्मलाई हाटबजार पूर्णरूपमा बन्द गराएको जनाएको छ ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणबाट सतर्कता अपनाउन यस्तो निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताउनुभयो । शिवसतासी नगरपालिकाले नगर क्षेत्रमा लाग्ने आधा दर्जन बढी साप्ताहिक हाटबजार एक हप्ताअघिदेखि बन्द गराएको छ । नगरले कोरोनाको सङ्क्रमण समुदायमा फैलिन नदिन बढी भीडभाड हुने हाटबजार तथा धार्मिक र पर्यटकीय स्थलहरु भदौ २ गतेसम्मका लागि बन्द गरेको नगर प्रमुख चन्द्र शेर्माले बताउनुभयो ।

त्यसैगरी विर्तामोड र अर्जुनधारा नगरपालिकाले समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढेसँगै नगर नै बन्दाबन्दी गरेका छन् । दुवै नगरले कोरोना सङ्क्रमितसँग सम्पर्कमा रहेका व्यक्तिको कन्टयाक्ट ट्रेसिङ गर्ने र वित्तीय संस्थाका कर्मचारी तथा व्यवसायीको समेत धमाधम स्वाब सङ्कलन गरिरहेका छन् । मेचीनगर नगरपालिका–१० का स्थानीयवासी १५ वर्षीय फुटबल खेलाडी कोरोना सङ्क्रमित भएको पुष्टि भएसँगै वडा नं १० र ९ मा नगरले लकडाउन घोषणा गरेको छ ।

दुईवटा वडामा गरिएको लकडाउनसँगै धुलाबारी बजारमा अर्धसप्ताहिकरूपमा लाग्दै आएको हाटबजार बन्द गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । पालिकाहरुले तोकेको मापदण्डविपरीत गएमा जो कोहीलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने ती नगरपालिकाले जनाएका छन् । सो ऐनमा एक महिना कारागार वा रु १०० जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बजार अनुगमनलाई तीव्र बनाइने र भीडभाड भएको पाइएमा कानूनअनुसार कारवाही गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्