आरती स्ट्रिप्सका मजदुरलाई उद्योगमै ‘आईसोलेशन’ गरिने

आरती स्ट्रिप्सका मजदुरलाई उद्योगमै ‘आईसोलेशन’ गरिने

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका अन्तर्गत टंकीसिनवारीमा सञ्चालित आरती स्ट्रिप्स प्रा.लि.मा कार्यरत १८ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि उद्योगमै आईसोलेशन गरिने भएको छ । बुढीगंगा गाउँपालिकाले उद्योगमा कार्यरत मजदुरलाई उद्योग परिसर भित्रै आईसोलेशनमा राख्ने निर्णय गरेको हो ।

उद्योगमा कार्यरतमध्ये १६ जना भारतीयसहित दुई नेपाली मजदुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरु बल्लभ बरालका अनुसार कार्यरत मजदुर संक्रमित हुने संख्या बढ्दै गएपछि उद्योग परिसरमै आईसोलेशन गर्ने आइतबार निर्णय गरिएको हो ।

उद्योगका मजदुरमा संक्रमण फैलिएपछि उद्योग समेत बन्द गरिएको छ । गाउँपालिकाले तत्काल उद्योग बन्द गर्नका लागि निर्देशन गर्दै बाहिर कोठा लिएर बसेका मजदुरलाई समेत होम क्वारेन्टीनमै सुरक्षित बस्न आग्रह गरेको छ । स्थानीय तहको निर्देशनपछि २४ घण्टा लगाएर मेशिन ‘सट डाउन’ गरेको छ, अधिकृत बरालले भन्नुभयो–झण्डै ३०० सय मजदुर कार्यलय उद्योगमा ८० प्रतिशत मजदुर भारतीय छन् ।

उद्योग परिसरमै आईसोलेशनमा बसेका संक्रमित मजदुरलाई स्वास्थ्य परामर्श दिनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मी परिचालन गर्नेछ ।
यसैगरी गाउँपालिका भित्र सञ्चालित सबै उद्योग प्रशासनले आफ्नो मजदुरको पीसीआर परीक्षण गराएर जानकारी दिनका लागि बुढीगंगा गाउँपालिकाले निर्देशन गरेको छ । आइतबार बसेको कोभिड क्राईसिस मेनेजमेन्ट समितिको बैठकले मजदुरहरुको पीसीआर परीक्षण गरेर गाउँपालिकालाई जानकारी गराउन सबै उद्योगको नाममा सुचना जारि गरेको हो ।

बैठकले बैंक तथा वित्तिय संस्थाबाट हुने क्यास कारोबार रोकेर बिद्युतीय वा एटीएमबाट मात्रै कारोबार सञ्चालन गर्न आग्रह गरेको छ । औषधी पसलबाहेका खाद्यन्न तथा तरकारीका पसलहरु मध्यान्हसम्म मात्रै सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । यसैगरी गाउँपालिका भित्रका शैक्षिक संस्थामा हुँदै आएका प्रशासनिक कामलाई समेत अर्को सूचना जारी नहुँदासम्म रोक्ने निर्णय गरिएको अधिकृत बरालले जानकारी दिनुभयो ।
औद्योगिक करिडोर क्षेत्रमा पर्ने बुढीगंगा गाउँपालिकामा संक्रमित हुनेको संख्या ३० जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्