प्रदेश सिसिएमसी बैठक : निजी अस्पताल र होटलमा आईसोलेशन

प्रदेश सिसिएमसी बैठक : निजी अस्पताल र होटलमा आईसोलेशन

विराटनगर । कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि निजी अस्पताल र होटललाई समेत आवश्यकता अनुसार आईसोलेशन बनाउने सकिने भएको छ ।  कोरोना क्राइसिस मेनेजमेन्ट प्रदेशस्तरीय कमिटी (सिसिएमसी)को आइतबार साँझ सम्पन्न बैठकले जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रहरुमा आइसोलेसन वार्ड स्थापना गर्ने र आवश्यकता अनुसार निजी क्षेत्रका संरचना समेत प्रयोगमा ल्याउने निर्णय गरेको हो ।

बैठकले आइसोलेसन स्थापना गर्ने तथा पीसीआर परीक्षणको दायरालाई थप फराकिलो र व्यवस्थित गर्ने सामाजिक विकास मन्त्रालयको प्रस्ताव स्वीकृत स्वीकृत गरेको छ । बढी जनघनत्व भएका झापा, मोरङ र सुनसरीमा निजी अस्पताल र होटलमा प्रदेश र स्थानीय तहको समन्वयमा आइसोलेसन स्थापना तथा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

तत्कालका लागि विराटनगरको माडवारी सेवा सदनमा ५०, रंगेली स्थित जनता क्याम्पसमा १००, सुनसरी हरिनगरा १ स्थित वि. जेनेरल अस्पतालमा ५०, बराह क्षेत्र स्थित कृष्णदास आश्रममा १०० शैयाको आइसोलेसन स्थापना गर्ने निर्णय गरिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीका अनुसार बैठकले यस अघि स्थापना भएका क्वारेन्टाइनको संख्या घटाउने र सुनसरीको सि–म्याक्स, झापाको कलवलगुढी र चतराको क्वारेन्टाइनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो ।

शैक्षिक संस्थाहरुमा स्थापना गरिएका क्वारेन्टाइन साउन मसान्तसम्म पूर्णरुपले हटाउने निर्णय समेत गरिएको छ । आन्तरिक मामिला मन्त्रालयले अघि बढाएको लकडाउन खुले पश्चात कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना, २०७७ बैठकले स्वीकृत गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सटडाउन, लकडाउन, कफ्र्यु आदि लगाउनु पर्ने अवस्थामा पनि सेवा प्रवाह, बन्द व्यापार, यातायात सञ्चालन, प्रयोगशाला सञ्चालन, उद्योग आदि सञ्चालन सम्वन्धी व्यवस्थित नीति तर्जुमा गरिएको छ ।

कुनै ठाउँमा सघन केस देखिएको अवस्थामा आंसिक रुपमा मात्र लकडाउन वा निषेधाज्ञा लगाउन सकिने र सेवा प्रवाहका लागि निर्धारित नीति अनुसार अन्य पेशा व्यवसाय व्यवस्थित हुने गरी तयार पारिएको कार्ययोजना पारित भएको मन्त्री कार्कीले जानकारी दिनुभएको छ । कार्ययोजना सोमबार (भोलि) मुख्यमन्त्री कार्यालयले सार्वजानिक गर्ने भएको छ ।  बैठकले नेपाल भारत सीमालाई थप कडाई गर्ने र आवतजावत नियन्त्रण गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्