हालको वर्मादेखि कजाकिस्तानसम्म असंख्य हिमश्रृङ्खला र चुचुराहरु, तिनको दक्षिणमा रहेका हरिया सुरम्य पहाडहरु र तिनका छातिवाट वगेका अनवरत नदीहरु, नदीका दुवैतर्फ वनेका फांटहरु, त्यसदेखि तलहट्टीमा रहेको घना जंगल सहितको तराईका समथर जमीनहरु छन । वीचवीचमा लोभलाग्दा उपत्यकाहरु, तालतलैया, नागी र चौरहरुको कल्पना गर्दा हरेक मानसपटलमा एउटा सुन्दर प्राकृतिक चित्र वन्छ । यस क्षेत्रमा म्यानमार, भुटान, सिक्किम, नेपाल, कुमाउं, गढवाल, लद्दाख, जम्मु काश्मिर, वाल्टिस्तान, उत्तरी अफगानिस्तान जस्ता राज्यहरु थिए । राजनैतिक विभाजनका हिसाबले हाल म्यानमार, भुटान, नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान देशका रुपमा विकास भएका छन ।
रमाइलो कुरा के छ भने यस क्षेत्रमा विभिन्न भाषा र संस्कृति भएपनि हिन्दु र वौद्ध धर्म मान्ने नेपालीभाषीहरुको वाहुल्यता छ । उनीहरुको पहाडी र हिमाली भुगोलसंग सामन्जस्य भएको कठिन जीवनशैली, कसरत र अर्गानिक खानपानले सुगठित शरीर हुने भएकाले विश्व सिंगै निलेको व्रिटिश साम्राज्यलाई सतलजदेखि टिष्टा सम्म फैलिएको नेपाल राज्यले घुंडा टेकाएको थियो । राजनैतिक रुपले छल गरी गरिएको सुगौली सन्धिवाट हाल भारतको रुपमा रहेपनि उत्तराखण्ड, उत्तरप्रदेश, विहार र पश्चिम बंगालका ती ठाउँमा नेपाली लोकजीवन जीवित छ ।
परिवर्तित परिवेशमा राणाशासनले व्रिटिश सरकारको चंगुलमा फसेर लाखौ नेपालीलाई प्रथम र दोस्रो विश्वयुद्धमा पठाएपछि नेपालीहरुको वीरता देखेर आजसम्म वेलायत र भारतले नेपालका आदिवासी जनजातिहरूलाई आफ्नो सेनामा भर्ती गरिरहेका छन । तर तिनीहरुले दलित, तामाङ, व्राम्हण क्षेत्री ठकुरी नेवारहरूलाई सेनामा लिदैनथे । राई लिम्वु, गुरुङ, मगर उनीहरुको मुख्य छनोट गर्ने जातिहरू पर्दछन । आजभोलि ठकुरी र नेवार हरुपनि फाट्टफुट्ट भर्ती भएका देखिन्छन् । नेपाली सैनिकहरूले भारत र वेलायतका निर्णायक युद्धमा उच्च वहादुरी र वलिदान गरेर उनीहरूको रक्षा गरेका छन । फोकल्याण्ड, कारगिल लगायतका आधुनिक युद्धमा समेत गोरखाली वीरताको वेमिशाल ईतिहास छ ।
नेपालमा व्याप्त कुशासन, कठीन जीवनशैली एकातिर र अर्को तिर लाहुरेहरुको शान शौकत र कथा सुनेर नेपालका नौजवान हरु भारतीय सेना, बेलायती सेनामा भर्ती हुन मरिहत्ते गर्ने गर्दछन् । कम्व्याट लगाएर, भरियालाई ट्यान्का वोकाएर, कांधमा टेपरिकर्डर वोकेर आउने रसिक लाहुरेहरु देखेर गाउंका जो कोही मोहीत हुन्थे । आजभोलि पनि यूवाहरु डोकोमा वालुवा वोकेर उकालो दौडिरहेको देख्न पाउने कारण यही हो ।यही आकर्षणले सेनामा लाग्न नसक्नेहरू, सेनाले नलिने जातिकाहरु घर छोडेर भारत जाने, चौकिदार, घरेलु श्रमिकको रूपमा काम गर्ने चलन वस्यो । खेतीपाती र घरवार बुढापाका र महिलाहरूले सम्हाल्ने र जवान पुरुषहरु मुगलान जानु अद्यापि नेपाली समाजको विशेषता नै हो ।
गठिलो र तन्दूरुस्त शरीर, जेसुकै काम गर्न सक्ने, छलकपट नगर्ने, परिवारजस्तै भएर वस्ने, कम तलवमा पनि काम गर्ने भएकोले भारतमा नेपालीहरुलाई जोसुकैले पनि रुचाउछन् । वर्षामा खेती लगाएर भारत जाने, कमाएको केही नगद लिएर दशैमा घर आउने, दशै तिहार मनाएर वाली थन्काएर, दाउरा काटिदिएर फेरी मुगलान जाने अल्पकालीन कामदारहरु एकथरी, वर्षभरि उतै काम गरेर दशैमा मात्र आउनेहरु अर्कोथरी, उतै घरजम गरेर वसेका र केही सालमा एकपटक आउनेहरु गरी फरक(फरक किसिमले उनीहरु काम गरिरहेका हुन्छन् । पश्चिम नेपालका नेपालीहरु गोरखपुर, लखनऊ दिल्ली, काश्मिर, उत्तराखण्ड जाने, मध्य नेपालवाट पटना, दरभंगा, वनारस जाने, पुर्ववाट सिक्किम, आसाम, कलकत्ता र भुटान वर्मा सम्म जाने र अपवादमा दक्षिण भारतसम्मै जाने नेपाली चलन छ । यस्तो निर्वाहमुखी हिसाबले भारतमा काम गर्ने श्रमिकहरुको रेमिट्यान्स हिसाव नगरिए पनि नेपाली अर्थतन्त्रमा यसको दर्विलो योगदान छ ।
२०४० को दशकसम्म भारत वाहेक अन्य वैदेशिक गन्तव्य खास थिएन । खुला सिमाना र पासपोर्ट भिसाको झन्झट नभएकोले काम गर्न, पढ्न र तीर्थयात्रा गर्ने एकमात्र गन्तव्य भारत थियो । नेपालमा जनसंख्याको वृद्धि, चेतनाको वृद्धि र वढी पैसा कमाउने लोभले २०४६ को परिवर्तन पछि नेपाली श्रमिकहरु वैकल्पिक गन्तव्यहरु खोज्नथाले । यसै क्रममा लुकिछिपी र अवैध तरीकाले युरोप, अमेरीका छिर्नेहरु वढ्नथाले । यसैगरी मलेशिया,कतार, साउदी, युएई, कुवेत, इजरायल, कोरीया, जापान, मकाओ हंगकंग जाने ट्रेन्ड चल्यो । माओवादी छापामार युद्द शुरुवात भएपछिको दोहोरो मारवाट वच्न जोसुकैपनि विदेश जान थालेपछि नेपालको गाउँहरु युवायुवती विहीन भए । आजभोलि विश्वभरीका हरेक देशमा नेपालीहरु पुगेका छन । यसको परिणाम स्वरुप नेपालको आर्थिक(सामाजिक सम्वन्धहरु पुर्णरुपमा फेरिए । हाम्रो समाज विदेशमुखी, पैसा मुखी, सुविधाभोगी र आफ्नो देशमा केही गर्न नचाहने वन्यो । आजको नयाँ पुस्ताको वच्चा अव सिपाही, शिक्षक, किसान कोही वन्न चाहदैन, उ युरोप अमेरीका अष्ट्रेलिया जापान जान चाहन्छ र जसरी भएपनि धेरै पैसा कमाउन चाहन्छ । उ अव मन्डेला, गान्धी हैन, पाव्लो ईस्कोवारलाई हिरो मान्दछ ।
तर सबैभन्दा विचारणीय कुरा के हो भने अलि रीण पत्याउने, पढेकाहरु अन्य देश गएपनि गरीव र पिछडिएका हरुको कमाउन जाने विदेश अहिलेपनि भारत नै हो । उनीहरु भारतमा सस्तो रेटमा श्रम गर्छन । उहाँ कमाएको भारु यहाँ आएर साट्दा वढी हुने हुनाले उनीहरुलाई यसले राम्रै भरथेग गर्दछ । नेपालवाट श्रम गर्न र अध्ययन गर्न उपचार र तीर्थयात्रा गर्न कति नेपाली भारत जान्छन् वा भारतबाट व्यापार र श्रम गर्न कति भारतीय नेपालमा आउंछन् , कसैसँग रेकर्ड छैन । तर यो चलिरहेको छ ।
भारत १३७ करोड मानिस वस्ने देश हो । जनशक्तिको अपार माग भएको श्रम वजारमा त्यहाँ दशवीस लाख नेपाली जानू र काम गर्नुले खासै फरक पर्दैन । यसैपनि भारतका पनि पढेलेखेका र हुनेखाने परिवारका युवा धमाधम विदेश जाने चलन छदैछ । नेपालको आधा जनसंख्या भारत काम खोज्न गएपनि त्यहाँ यसले खास नकारात्मक असर पर्दैन ।
यसरी नै नेपाली लाहुरेहरु गाउंघर शुन्य पारेर वेंसीखेत लेखका वारी वांझै पारेर झनझन विदेश गैरहेका छन । रगत पसिना साटेर कमाएका पैसाले उव्जाउ भुमिमा वसेका अव्यवस्थित शहरहरूमा प्लटिङका पाचधुरका टुक्रामा वनाईएका सांघुरा सिमेन्टका घरका पिल्लरहरुमा गाउंका यादमा रुखका वुट्टा खोपिरहेका छन । भोको पेट चाउचाउले भरेर भाटाले वारेका इङलिस मिडियम स्कुलमा चर्को शुल्क वुझाईरहेका छन । एउटा अधोगतिको यात्रामा हिडेको यो आत्मघाती लाहुरे संस्कृतिले नेपालको स्वतन्त्रता सिध्याउने निस्चित छ ।