झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ ।
मेचीनगर १०, धुलाबारीमा रहेको अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती डाक्टरलाई व्यवस्थित रुपमा अस्पतालकै माथिल्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ ।
मेचीनगरमा चिकित्सकलाई पहिलोपटक र समुदायमा दोस्रोपटक कोरोनाको सङ्क्रमण फेला परेको हो । केही दिनअघि मेचीनगर १०, धुलाबारी बजारका १५ वर्षीय किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको थियो ।
चिकित्सकसहित समुदायस्तरमा एकैपटक चारजनामा कोरोना सङ्क्रमण देखिएपछि आगामी रणनीति बनाउन मेचीनगर नगरपालिको नगरस्तरीय कोरोना सङ्क्रमण नियन्त्रण कार्यदलले नगरका विभिन्न राजनीतिक दल, सङ्घ-संस्थाका प्रमुख प्रतिनिधि सुरक्षाकर्मीसँग छलफल गरेर एक साताका लागि नगरपालिकमा लकडाउन घोषणा गरेको छ ।
नगरप्रमुख विमल आचार्यका अनुसार सङ्क्रमण फेला परेकाकासँग सम्पर्कमा आएका र अन्य शङ्कास्पद व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ गरी पीसीआर परीक्षणका थ्रोट स्वाबको नमुना सङ्कलन गरिनेछ । -रासस