प्रदेश नं १ सरकारबाट स्थानीय तहलाई रु एक करोड सहयोग

प्रदेश नं १ सरकारबाट स्थानीय तहलाई रु  एक करोड सहयोग

प्रदेश नं १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनका लागि स्थानीय तह र अस्पताललाई रु एक करोड ६० लाख उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ जिल्ला अस्पताललाई कम्तीमा १० श्यया क्षमताको आइसोलेशन केन्द्र बनाउन बजेट उपलब्ध गराइएको छ ।

केही दिन अगाडि मात्र थप आइसोलेशन श्ययाको व्यवस्था गर्न प्रदेशस्तरीय सिसिएमसी बैठकले निर्णय गरेको थियो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० श्यया क्षमताको आइसोलशन केन्द्र बनाउनका लागि महानगरपालिकालाई रु १० लाख उपलब्ध गराएको छ । त्यस्तै रङ्गेली नगरपालिका–७ स्थित जनता क्याम्पसको भवनमा १०० श्यया क्षमताको आइसोलेशन बनाउन रङ्गेली नगरपालिकालाई रु १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–१ स्थित बी जेनेरल अस्पतालमा ५० श्यया क्षमताको आइसोलेशन बनाउन रु १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रमानन्द आचार्य सेवा पीठ, चतरामा १०० श्यया क्षमताको आइसोलेशनका लागि रु १५ लाख र सोलुदूधकुण्ड नगरपालिकालाई आइसोलेशन केन्द्र स्थापना र सञ्चालन गर्न रु पाँच लाख प्रदेश सरकारले उपलब्ध गराएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

त्यस्तै प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर जिल्ला अस्पताललाई कम्तीमा १० श्यया क्षमताको आइसोलेशन स्थापना र सञ्चालन गर्न रु पाँच लाखका दरले एकमुष्ट रु ५५ लाख प्रदेश सरकारले उपलब्ध गराएको छ । कोभिड–१९ आइसोलेशन अस्पताल गोठगाउँ मोरङलाई रु २० लाख, कोभिड–१९ आइसोलेशन केन्द्र, चौदण्डीगढी उदयपुरलाई रु पाँच लाख र मेची अस्पताल, झापालाई रु १० लाख आइसोलेशन सञ्चालनका लागि उपलब्ध गराइएको छ । त्यस्तै बेलबारी र उर्लाबारी नगरपालिका तथा थुलुङ दूधकोशी गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापन र सञ्चालनका लागि रु पाँचपाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।
प्रदेशमा ११५ सङ्क्रमित थप
प्रदेश नं. १ मा आज ११५ सङ्कमित थपिएका छन् । मोरङका ८८, सुनसरीका १९, इलामका चार, झापा र उदयपुरका एकएक तथा प्रदेश बाहिरका जिल्लाका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरका २२ महिलासहित ६०, बूढीगङ्गाका २५, कटहरीका दुई महिलासहित तीन, सुनसरीको इटहरीका तीन महिलासहित १३, दुहवीका तीन, धरानका एक महिला र बराहक्षेत्र र रामधुनीका एकएक, इलाम सन्दकपुरका चार, झापाको विर्तामोडका एक महिला र उदयपुरकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा सङ्क्रमित एक हजार ६२६ पुगेका छन् । यसैगरी प्रदेशबाट आज २२ सङ्क्रमित निको भई घर फर्केका छन् । निको हुने अहिलेसम्म एक हजार ४० पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्