प्रदेश १ सरकारद्वारा डेढ करोड निकासा, विराटनगर महानगरलाई आइसोलन बनाउन १० लाख

प्रदेश १ सरकारद्वारा डेढ करोड निकासा, विराटनगर महानगरलाई आइसोलन बनाउन १० लाख

प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालहरुलाई रकम निकासा गरेको छ ।

आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई कम्तिमा १० शय्या क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराइएको छ ।

केही दिनअघि मात्र थप आइसोलेसन शय्याहरुको व्यवस्था गर्न प्रदेशस्तरीय सीसीएमसी बैठकले निर्णय गरेको थियो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० शय्याको आइसोलन केन्द्र बनाउन महानगरपालिकालाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

रंगेली नगरपालिका वडा ७ स्थित श्रीजनता क्याम्पसको भवनमा १०० शय्या क्षमताको आइसोलेसन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ स्थित वि. जेनेरल अस्पतालमा ५० शय्याको आइसोलेसन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रमानन्द आचार्य सेवा पीठ, चतरामा १०० शय्या क्षमताको आइसोलेसनका लागि १५ लाख र सोलुदूधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्‍चालन गर्न ५ लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

त्यस्तै प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरुलाई कम्तिमा १० शय्याको आइसोलेसन स्थापना र सञ्‍चालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ ।

कोभिड-१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्‍चालनका लागि उपलब्ध गराएको छ ।

त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ दूधकोसी गाउँपालिकालाई क्‍वारेन्टिन  व्यवस्थापन र सञ्चालनका लागि पाँच-पाँच लाख रुपैयाँ प्रदेश सरकारले निकासा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्