नोबेलमा पीसीआर मेशिन, सरकारले तोकेभन्दा कम शुल्कमै परीक्षण

नोबेलमा पीसीआर मेशिन, सरकारले तोकेभन्दा कम शुल्कमै परीक्षण

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरले अत्याधुनिक प्रविधिको पीसीआर मेशिन भित्र्याएको छ ।
अस्पतालले सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ख्यालमा राख्दै कोरोना भाईरस (कोभिड–१९) संक्रमण पहिचानका लागि स्वाब परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको हो ।

अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार अमेरिकी उच्च प्रविधिको टिब्सन पीसीआर मेशिनले एक पटकमा ९६ जनाको स्वाब नमूना परीक्षण गर्ने क्षमता राख्दछ । एक साइकलमा ९६ स्वाब नमूना राखेपछि त्यसको रिपोर्ट ४५ मिनेटमा आउने प्रवन्धक दाहालले जानकारी दिनुभयो । यो मेशिनमा आरएनए एक्ट्राक्सन नचाहिने र सोझैं स्वाबबाटै परीक्षण गर्न सकिने भएकोले छिटो हुने दावी गरिएको छ ।

आइतबार कम्पनिले अस्पतालका निर्देशक डा. राजेश नेपाललाई मेशिन हस्तान्तरण गरेको छ । मेशिन खरिद गर्ने काम सकेका छौं, निर्देशक नेपालले भन्नुभयो–यसको स्टलेशन गरेर एकसाता भित्रैबाट परीक्षण सुरु गर्नेछौं ।

नोबेलले सर्वसाधारणका लागि दुईहजार ६०० रुपिँया शुल्क लिएर पीसीआर परीक्षण गर्ने भएको हो । सरकारले पाँच हजार ५०० रुपिँया शुल्क तोकेपनि नोबेलले त्यो भन्दा कम शुल्क लिएर परीक्षण गर्नेछ, निर्देशक नेपालले भन्नुभयो–सरकारीस्तरबाट परीक्षण गर्न पठाएमा दुईहजार ३०० रुपिँया मात्रै लाग्नेछ ।

नोबेल मेडिकल कलेजका प्रिन्सिपल डाक्टर रामहरी घिमिरेले कोरोना संक्रमणको दर बढ्दै गएपछि सरकारले मात्रै नागरिकको स्वास्थ्य सुरक्षालाई धान्न नसक्ने देखिएकोले निजी क्षेत्रले परीक्षणको सुविधा उपलब्ध गराउन लागेको बताउनुभयो । उहाँले आम नागरिकको माग बमोजिम नै नोबेलको ल्याबमा उच्च प्रविधिको पीसीआर मेशिन जडान हुन लागेको दावी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्